ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्ण जन्माष्टमी मुलुकभर मनाइँदै

डिसी नेपाल
२७ साउन २०७७ ७:१२

काठमाडाैं। वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ।

यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ। छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेकाे पौराणिक ग्रन्थमा उल्लेख छ।

जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण मेला लाग्नैन। यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष दुवैतिर विधिपूर्वका पूजा आराधना गर्ने तर भीड नगर्ने गरी तयारी भएको छ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ। उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ।

श्रीकृष्णजन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरोस्ः राष्ट्रपति

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्।

विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्नताका सूचक भएको बताउँदै राष्ट्रपतिले यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताका सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्न मद्दत पु-याउने विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले श्रीकृष्णजन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्रीभावना जागृत गरी भावनात्मक एकता अझ सुदृढ बन्न सकोस् भनी सबैमा शुभकामना पनि प्रकट गरेकी छन्।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णाष्टमीको मध्यरातमा भएको सम्झनामा आज उनको पूजाआराधना गरी जन्माष्टमीपर्व मनाउने गरिन्छ। द्वापरयुगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानवजातिको उद्धार गर्न वसुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *