नाइट भिजन हेलिप्याड निर्माण

रोल्पा । जिल्लामा नाइट भिजन हेलिप्याड निर्माण गरिएको छ। आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले हेलिप्याड निर्माण गरिएको बताइएको छ। रोल्पा नगरपलिकाले सदरमुकाम लिबाङ बजारदेखि करीब ५०० मिटर दूरीमा रहेको सो हेलिप्याड मनोरम दृश्यसहित निर्माण गरेको हो।
रोल्पा अस्पताल नजीकै रहेकाले बिरामी, विपद् र सुत्केरी महिलाको आपत्कालीन उद्धारमा सहजता होस् भन्ने उद्देश्यले उक्त हेलिप्याड निर्माण गरिएको नगरप्रमुख पूर्ण केसीले जानकारी दिए। “अब जतिखेर पनि बिरामीको उद्धार गर्न सकिने भयो”, केसीले भने।
अघिल्लो वर्ष १५ लाख बजेट खर्चेर बनाइएको हेलिप्याड बर्सातसँगै भत्किएपछि यस वर्ष पनि सोही हेलिप्याड निर्माणका लागि बजेट छुट्याएको थियो। “अघिल्लो वर्ष बनाएको हेलिप्याड भत्किएपछि यस वर्ष पिलर तथा सरिया बिछ्याएर ढलानसहित हेलिप्याड निर्माण गरिएको छ”, प्रमुख केसीले भने। सो हेलिप्याडका लागि यस वर्ष २० लाख थपिएको हो । “यस वर्ष थपिएको बजेटले हेलिप्याड निर्माणका साथै वरपरका संरचना पनि निर्माण भएको छ”, केसीले भने।
बर्षातको मौसमसँगै रोल्पाका अधिकांश सडकमा आउने पहिराले छ महिनासम्म सडक अवरुद्ध हुँदा बिरामी, सुत्केरी तथा विपद्मा परेकाले अकालमा ज्यान गुमाउने गरेका छन् । हेलिप्याड निर्माणपछि यस्तो समस्या भोग्दै आएका रोल्पालीलाई ठूलो राहत मिल्ने अधिकारकर्मी श्रीकुमारी रोकाले बताइन्।
जिल्लाका सुनछहरी गाउँपालिकाको पोवाङ, रुन्टीगढी गाउँपालिकाको होलेरी, परिवर्तन गाउँपालिकाको धामाचौर र गङ्गादेव गाउँपालिकाको सुखाओडारमा हेलिप्याड निर्माण गरिएको छ । प्रदेश सरकारको सहयोगमा पहिलो चरणमा जिल्लाका पाँच स्थानीय तहमा निर्माण गरिएको सो हेलिप्याडमध्ये चार स्थानको जिम्मा नेपाली सेनाले लिएको थियो । रोल्पा नगरपालिकाको लिवाङमा निर्माण गरिएको हेलिप्याड भने नगरपालिका आफैँले निर्माण गरेको हो।
Facebook Comment