बिहारका मुख्यमन्त्रीकाे मोदीसँग गुनासोः बाढी नियन्त्रणमा नेपालले सहयोग गरेन
काठमाडौं। भारतको बिहार राज्यका मुख्यमन्त्री नितिस कुमारले बाढी नियन्त्रणमा नेपालले सहयोग नगरेको आधारहीन आरोप लगाएका छन्। भारतीय सञ्चार माध्यम स्क्रोल डट इनका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बाढी प्रभावित राज्यका मुख्यमन्त्रीहरुसँग गरेको भर्चुअल बैठकको क्रममा बिहारका मुख्यमन्त्री नितिस कुमारले नेपालले सहयोग गर्दा उत्तरी बिहारमा बाढीले क्षति गरेको बताएका छन्।
तर, नेपालले कसरी असहयोग गर्यो भन्ने विषयमा भने समाचारमा केही खुलाइएको छैन। नितिस कुमारले केही वर्षदेखि नेपालले असहयोग गरेकोमात्र आरोप लगाएका छन्।
उनको आरोप तथ्यमा आधारित भने छैन। बरु भारतीय निर्माणले नेपालमा डुबान हुने गर्छ। नेपालले भारतलाई डुबाएको छैन। डूबानबारे सीमावर्ती विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग डिसी नेपालले कुरा गर्दा भारतीयहरुको आरोप निराधार रहेको बताएका थिए। उनीहरुले उल्टै भारतले सीमा क्षेत्रमा बनाएका संरचनाका कारण नेपालमा डुबान हुने गरेको बताएका थिए।
नेपालले जारी गरेको नयाँ नक्सालाई लिएर आपत्ति जनाइरहेको भारतका नेताहरुले पछिल्ला दिनहरुमा विवादित अभिव्यक्ति दिँदै आएका छन्। हालै भारतीय विदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्धलाई महान भारतीय भनेपछि नेपालले त्यसको जवाफ दिएको थियो। नेपालले स्टेटमेन्ट जारी गरेपछि भारतीय विदेश मन्त्रालयले विदेशमन्त्रीको भनाई सच्याएको थियो।
गएो बैशाखमा नेपालले नयाँ नक्सा जारी गरेयता भारत र नेपालबीच कुटनीति तहमा कुनै वार्ता भएको छैन। यहीबीचमा भारतीय नेताहरु तथा सञ्चारमाध्यमहरुले नेपालबारे विवादास्पद भनाईहरु राख्दै आएका छन्।
Facebook Comment