भारतले अकूटनीतिक व्यवहार गर्‍योः प्रधानमन्त्री ओली

डिसी नेपाल
२८ साउन २०७७ २२:२१

काठमाडौं। नेपाल र भारतबीच लामो समयसम्म बढेको असमझदारीका कारण कुनै पनि स्तरको कूटनीतिक वार्ता हुन नसकेको स्थितिलाई घटाउँदै परराष्ट्र सचिव स्तरीय दुई पक्षीय कूटनीतिक वार्ताको मिति तय भएको पूर्व सन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले निरन्तर अकूटनीतिक व्यवहार गरेको धारणा गरेका छन्। बुधबार साँझ प्रशारण भएको एक टेलिभिजन अन्तर्वार्तामा भारतसँगको नक्सा विवादका विषयमा नेपलाले वार्ताको पहल गर्दा भारतले दम्भ देखाएको बताए।

उनले भनेका छन्, ‘भारतले पहिलो पटक हाम्रो भूमिसहितको नक्सा प्रकाशित गरेपछि कूटनीतिक नोट पठायौं र वार्ताको कुरा गर्यौं, उताबाट बाटो बनाएर जवाफ आयो, त्यसपछि फेरि हामीले कूटनीतिक नोट पठायौं। यो पटक भने अलि अकूटनीतिक जवाफ आयो।’

भारतले गत वर्ष एकलौटी रुपमा नक्सा जारी गर्दै नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेको थियो। नेपालले त्यसको विरोधमा कूटनीतिक नोट पठाएको थियो। फेरि भारतले लिपुलेकमा त्रीदेशीय सीमा जोड्ने सडक नेपाली भूमि हुँदै बनायो। त्यसपछि नेपालले भारतले अतिक्रमण गरेका भूमिसहित नयाँ नक्सा जारी गर्यो। भारतले नेपालले नयाँ नक्सा जारी गरेकोमा विरोधसमेत जनाएको छ।

त्यसयता नेपाल र भारतबीच कूटनीतिक तहमा वार्ता भएको छैन। प्रधानमन्त्री ओलीले बुधबार प्रशारण भएको अन्तर्वार्तामा पनि भारतसँग कुनै कुटनीतिक संवाद नभएको बताएका छन्। उनले भने, ‘भारत र नेपालबीच अहिले कुनै औपचारिक कुरा भएको छैन।’

प्रधानमन्त्री ओलीले भारतले अतिक्रमण गरेको भूमि वार्ताकै माध्यमबाट फिर्ता ल्याउनेसमेत बताए। उनले भारतसँग बहुआयमिक सम्बन्ध रहेको भन्दै वार्ता नै एकमात्र उपयुक्त माध्यम भएको र वार्ताद्वारा नै समस्या समाधान गर्ने विस्वाश व्यक्त गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *