अनलाइन कन्सर्ट गरेर युवा दिवस मनाइयो

डिसी नेपाल
२९ साउन २०७७ १४:१२

काठमाण्डौ । बालबालिका तथा युवाहरूका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था युवालयले अन्तर्राष्ट्रिय युवा दिवस (अगस्ट १२)का उपलक्ष्यमा एक अनलाइन कन्सर्ट आयोजना गरेको छ ।

कोभिड–१९को महामारीका कारण भौतिक रूपमा जम्मा हुन सक्ने अवस्था नभए पनि युवाहरूलाई वर्तमान परिस्थितिमा आफ्ना अधिकार र जिम्मेवारीबारे जागरुक बनाउनका लागि युवा दिवस एक उत्कृष्ट मौका भएकाले कार्यक्रम गरिएको संस्थाले जनाएको छ ।

बेलुका छ बजेदेखि भएको अनलाइन कन्सर्टमा काठमाडौँ, खोकनाका युवाहरूको उदाउँदो साङ्गीतिक समूह ‘श्रीकाली ब्यान्ड’ले मौलिक नेपाली बाजागाजाको प्रयोग गरी दर्शकहरूलाई मनोरञ्जन दिलाएको थियो । कार्यक्रममा जुम सफ्टवेयर मार्फत् दर्जनौँ युवाहरू प्रत्यक्ष सहभागी हुँदा सयौँले फेसबुकमा जारी प्रत्यक्ष प्रसारण हेरेका थिए ।

कार्यक्रम अगाडि विभिन्न जिल्लाका युवाहरूले कविता र गीत लगायका आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

लकडाउनका समय प्रायः किशोरकिशोरीहरू घरमै फुर्सदमा रहने भएकाले युवालयले विगत केही महिनादेखि हरेक हप्ताको बुधबार ‘पौरखी संवाद’ नामको अनलाइन कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । यस हप्ताको बुधबार युवा दिवस पर्न गएकाले हिजोको कार्यक्रमलाई भने अझ विशेष रूपमा सञ्चालन गरिएको छ ।

दिउँसो तीनदेखि चार बजेसम्मको कार्यक्रममा पर्वतारोही तथा पर्वतारोहण प्रशिक्षक पासाङ ल्हामू शेर्पा अकिताले पर्वतारोहणलाई पनि कसरी करिअर बनाउन सकिन्छ भनेर युवाहरूलाई जानकारी दिएकी थिइन् ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९९देखि हरेक वर्षको अगस्ट १२मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । यस वर्षको दिवसको नारा ‘विश्व अभियानमा युवा सहभागिता’ थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *