ओली–प्रचण्ड छलफल सकारात्मक, चार दिनभित्र निकास आउने दाबी

डिसी नेपाल
२९ साउन २०७७ १६:०८

काठमाडौं। फोन संवादसमेत नभएको नौ दिनपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटार छिरे। यसअघि बालुवाटारले ठोस प्रस्ताव नल्याएसम्म छलफलको औचित्य नरहेको भन्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँग संवाद नगर्ने अडानमा रहेका प्रचण्ड बिहीबार बालुवाटार छिरेर प्रधानमन्त्रीसँग लामो छलफल गरे।

दुई अध्यक्षबीच के विषयमा छलफल भयो भन्ने बाहिर नआएपनि छलफल सकारात्मक भएको नेताहरुले बताएका छन्। दुई अध्यक्षबीच भएका छलफल बाहिर आउँदा वातावरण बिग्रिने भन्दै विषय बाहिर ल्याइएको छैन। प्रधानमन्त्री ओलीले बुधबार अबका पाँच दिनभित्र निकास आइसक्ने बताएको भोलि पल्ट दुई अध्यक्षबीच भएको छलफल सकारात्मक भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

‘भित्र बसेको विषयमा हामी पनि जानकार छैनौं,’ नेम्वाङले डिसी नेपालसँग भने, ‘तर छलफल सकारात्मक भएको र केही दिनभित्रै निकास निस्किनेमा आशावादी छौं।’ ओली र प्रचण्डबीच साउन २० गते यता संवाद हुन सकेको थिएन। दुई नेताबीच संवाद हुन नसकेपछि दोस्रो तहका नेता सक्रिय भएका थिए।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि नेकपाभित्र विवाद चुलिएको थियो। विवाद बढ्दै गएपछि प्रचण्ड–माधव नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने अडान राख्दै आएका छन् भने प्रधानमन्त्री ओली पक्षधरले महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन्।

साउन तीन गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। जसलाई अध्यक्ष प्रचण्डले समेत समर्थन गरेका थिए। तर माधव नेपाल पक्षधरको चर्को विरोध पनि प्रचण्ड पछि हटेका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्य शंकर पोखरेल र वर्षमान पुनमार्फत प्रचण्डलाई तत्काल महाधिवेशन आयोजक कमिटी बनाउने र महाधिवेशन आयोजक समितिको कार्यकारी भूमिका प्रचण्डलाई लिने अनि उक्त आयोजक कमिटीको मानार्थ अध्यक्ष ओलीलाई राख्ने गरी प्रस्ताव पठाएका थिए। त्यही प्रस्तावका विषयमा बिहीबार दुई अध्यक्षबीच छलफल भएको हो।

अध्यक्ष प्रचण्डले ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिएपछि दुई अध्यक्षबीच छलफल संभव भएको हो। महाधिवेशन आयोजक कमिटी बनाउने विषयमा बिहीबार छलफल सुरु भएको र शुक्रबार फेरि दुई अध्यक्षबीच छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *