अब काठमाडौं आउन पनि नपाइने, बाहिर जान पनि नपाइने

डिसी नेपाल
२९ साउन २०७७ १८:५१

काठमाडौं। कोरोना महामारीको जोखिम बढेसँगै अब काठमाडौं उपत्यका आउन र यहाँबाट बाहिर जान नपाइने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै सवारी पास रोकिएको जानकारी दिएको छ।

प्रशासनले पास नदिने भएसँगै काठमाडौं उपत्यका आउन र बाहिर जान नपाइने भएको हो। प्रशासनले गृहमन्त्रालयको परिपत्रअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट सवारी पास नदिइने जनाएको छ।

गृहमन्त्रालयले बुधबार देशका ७७ वटै जिल्ला प्रशासनलाई पत्र लेखेर सवारी पास नदिन भनेको थियो। यसअघि लकडाउन कालमा पनि जिल्ला प्रशासनबाट पास लिएर काठमाडौं आउने र बाहिर जाने काम भइरहेको थियो।

पछिल्लो पटक काठमाडौंमा कोरोनाले लोकल ट्रान्समिसनको रुप लिएको चिकित्सकहरुले बताएका छन्। बिहीबारमात्र काठमाडौं उपत्यका १२७ जना कोरोना पोजेटिभ भेटिएका छन्। काठमाडौंमा पछिल्ला केही दिनयता प्रतिदिन सयभन्दा धेरै कोरोना संक्रमित फेला पर्ने गरेका छन्।

उता कोरोनाको जोखिम बढेको भन्दै काठमाडौंका विभिन्न स्थानहरु सिल गरिएको छ। कोटेश्वर क्षेत्रलाई गएको मंगलबार सिल गरिएको थियो भने बिहीबार कुलेश्वर, कलंकी क्षेत्रलाई सिल गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *