निधिका कारण अप्ठेरोमा देउवा
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व गर्ने आकांक्षीको संख्या बढिरहेको छ।
विभिन्न गुटमा विभक्त बनेको कांग्रेसभित्र मुख्य सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता नेता रामचन्द्र पौडेल पक्षधर गरी दुई खेमा परिचित छ। तर ती खेमाभित्र पनि विभिन्न उपगुट सक्रिय रहेका छन् र ती समूह आगामी महाधिवेशनमा आफू नेतृत्वमा पुग्न सक्दो प्रयास गर्ने तयारीमा देखिन्छन्।
कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा काठमाडौंमा गर्ने निर्णय भइसकेको छ। महाधिवेशनको मिति नजिकिँदै गर्दा आकांक्षीहरु सलबलाउन थालेका हुन्।
शुक्रबार उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने जानकारीका साथ पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्रसँग सहयोगका लागि प्रस्ताव गरेका थिए।
निधि समापति देउवा निकट मानिन्छन्। १३ औं महाधिवेशनमा सभापतिमा देउवालाई समर्थन गरेका निधिले १४ औं महाधिवेशनमा आफूलाई समर्थन गर्न देउवासँग आग्रह गरेको निधि निकट स्रोतले जनाएको छ।
उनले हिमाल, पहाड, तराई मधेसको एकतालाई थप सबल बनाउन र आउँदो राष्ट्रिय निर्वाचनमा पार्टीलाई सबै क्षेत्रमा सशक्त रुपमा विजयी गराउने लक्ष्य कांग्रेसका लागि आगामी कार्यभार हुन पुगेको र त्यसका लागि आफूलाई सभापतिमा सहयोग गर्न निधिले देउवालाई आग्रह गरेको बताइएको छ ।
संस्थापन पक्षबाट सभापति देउवा निर्विकल्प सभापतिका उम्मेद्वार मानिएका बेला देउवाका विश्वासपात्र रहेका निधीले सभापतिमा आफूलाई सहयोग गर्न गरेको आग्रहलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
आगामी महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा.शेखर कोइरालाले उम्मेदवारी घोषणा गरिसकेका छन्। निधि कांग्रेस नेता महेन्द्रनारायण निधिका पुत्र हुन्।
निधिले सभापतिमा उम्मेद्वारी दिने तयारी गरेपछि सभापति देउवा भने अप्ठेरोमा परेका छन्। देउवा १४ औं महाधिवेशनमा आफैं सभापतिमा उम्मेद्वारी दिने तयारीमा छन्। संस्थापन इतर समूहका सभापतिका धेरै आकांक्षी भएपनि संस्थापन पक्षमा सभापतिमा देउवा मात्र उम्मेद्वार मानिन्थे। तर निधीले आफूलाई सहयोग गर्न आग्रह गरेपछि देउवा अप्ठेरोमा परेका हुन्।
निधिले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालासँग निकटता बढाएका छन्। उनको आफ्नै गुट बलियो छ। विशेषगरी तराईमा उनको पकड मजबुत छ। निधीले देउवालाई साथ छाडेमा फेरि सभापति बन्ने सम्भावना कमजोर हुनसक्छ।
Facebook Comment