नेपाल-भारत परराष्ट्रमन्त्रालय स्तरीय वार्ता आज हुँदै

डिसी नेपाल
१ भदौ २०७७ ९:३६

काठमाडौं। भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि नेपाल–भारतको सम्बन्धमा चिसोपना आएका बेला सोमबार (आज) कूटनीतिक तहमा वार्ता हुँदैछ। आज जोयन्ट ओभरसाइड मेकानिज्मको बैठक हुने परराष्ट्र मत्रालयले जनाएको छ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिब शंकरदास वैरागीले र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वात्राले गर्नेछन्।

जोयन्ट ओभरसाइड मेकानिज्म २०१६ मा बनेको संयन्त्र हो। भारतीय लगानीका विकास आयोजनाबारे समीक्षा हुने यो संयन्त्रको बैठक हरेक वर्ष हुने गर्छ। तर, यो पटक भने यो बैठक कोरोना महामारी र नक्सा मतभेदका कारण ढिलाई भएको हो।

नेपालले गत वैशाखमा कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतले त्यसको विरोध गरेको थियो। यसअघि भारतले २०१९ मा एकपक्षीय रुपमा नेपाली भूमिसमेटेर नक्सा जारी गरेको थियो। नेपालले पनि त्यतिबेला विरोध जनाउँदै वार्ताको पहल गरेको थियो। तर, भारतले वार्तामा कुनै चासो नदेखाई उल्टै नेपाली भूमि हुँदै सडक बनाएपछि नेपालले नक्सा जारी गरेको थियो।

नेपालले नक्सा जारी गरेपछि भारतले वार्ताको वातरण विथोलिएको भन्दै वार्तालाई महत्व दिएको थिएन। सोमबार हुने वार्ता नेपालमा भारतीय लगानीका आयोजनाबारेमात्र हुने भए पनि नक्सा मतभेदपछि चिसिएको दुई देशबीचको सम्बन्धलाई सुधार र विश्वासको वातावरण बनाउन यसले सहयोग पुग्ने विश्लेषकहरु बताउँछन्।

यसअघि शनिबार भारतीय स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनका भारतीय सकमक्षी नरेन्द्र मोदीलाई फोन गरेका थिए। नक्सा विवादपछि चिसिँदै गएको सम्बन्ध पछिल्लो दिनहरुमा सुधारिँदै गएको देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *