कोभिड–१९ प्रभावित उद्योगलाई ३ प्रतिशत व्याजमै पुर्नकर्जा

डिसी नेपाल
१ भदौ २०७७ १३:४८

काठमाडौं। कोभिड–१९ प्रभावित प्रभावित उद्योग तथा व्यक्तिले ३ प्रतिशत व्याजदरमै पुर्नकर्जा पाउने भएका छन्। मौद्रिक नीतिमा गरिएको घोषणा अनुसार सहुलियत व्याजदरमा विभिन्न प्रकारका पुर्नकर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रस्ताव मागेको छ।

सोमबार सूचना जारी गरी केन्द्रीय बैंकले कोभिड–१९ प्रभावित उद्योग तथा व्यवसायका साथै लघु, घरेलु तथा साना उद्यमका लागि पुर्नकर्जा प्रस्ताव आह्वान गरेको हो। पुर्नकर्जाका लागि बैंकहरुले असोज १४ गतेसम्ममा पुर्नकर्जाका लागि निवेदन दिन सक्नेछन्। यस्तै उद्योगहरुले भने आफूले कर्जा उपभोग गरिरहेको बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले एकमुष्ट रुपमा लघु, घरेलु तथा साना उद्यम पुर्नकर्जा, साधारण पुर्नकर्जा तथा विशेष पुर्नकर्जाका लागि आवेदन माग गरेको हो। केन्द्रीय बैंकले कोभिड–१९ बाट अति व्यक्ति तथा उद्योगलाई विषेश पुर्नकर्जा र मध्यम प्रभावित क्षेत्रका उद्योगहरुका साधारण पुर्नकर्जा उपलब्ध गराउन लागेको हो।

लघु, घरेलु तथा साना उद्यम पुर्नकर्जा र साधारण पुर्नकर्जाको व्याजदर ५ प्रतिशत र विषेश पुर्नकर्जाको भने तीन प्रतिशत रहेको छ।  राष्ट्र बैंकले कोभिड–१९ बाट अति प्रभावित क्षेत्रमा पर्यटन, हवाई तथा पर्यटकीय यातायात, मनोरञ्जन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस, चलचित्र उत्पादन, वितरण, रोजगारी गुमेका कामदारलाई राखेको छ ।

यसैगरी तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, कुखुरापालन पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय, तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय, वैदेशिक रोजगार र शैक्षिक परामर्श सेवा प्रदायकलाई पनि अति प्रभावित क्षेत्रको सूचिमा राखिएको छ।

यसैगरी मध्यम प्रभावित क्षेत्र अन्तर्गत भने प्लास्टिक, फलाम/स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय, विद्यालय र कलेज, यात्रुवाहक स्थल यातायात, ब्युटी पार्लर, कानूनी, लेखा, इन्जिनियरिंग लगायतका परामर्श सेवा, अस्पताल, वन तथा खनिजजन्य उद्योग, प्रकाशन तथा संचार गृह, निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा र माटो तथा सिसाका उत्पादन सम्बन्धी व्यवसाय रहेका छन्।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रत्येक शाखाबाट न्यूनतम ५ वटा ग्राहक/ऋणी समेटिएको पुनरकर्जाको आवेदन दिन निर्देशन गरेको छ। पुनरकर्जाको लागि आवेदन गरिएको कुल रकम मध्ये कम्तिमा ७० प्रतिशत रकम लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा अन्तर्गत हुने गरी माग गर्नुपर्ने व्यवस्था छ।

लघु, घरेलु तथा साना उद्यम पुनकर्जा प्रतिग्राहक १५ लाख रुपैयाँसम्म, विशेष र साधारण पुनकर्जा प्रतिग्राहक ५ करोड रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थालाई उपलव्ध हुनेछ। पुनकर्जामा एक बर्ष र ऋणी अनुसारको प्रदान गर्ने पुनकर्जाको हकमा कोभिड १९ बाट बढी प्रभावितको हकमा बढीमा एक बर्ष र मध्यम तथा न्युन प्रभावितको हकमा ६ महिनाको हुनेछ।

कार्यविधि अनुसार कोभिड १९ का कारण अति प्रभावित मध्यम प्रभावित र न्यु प्रभावित भएका लघु तथा मध्यम उद्यमी व्यवासायीले १५ लाख रुपैयाँसम्मका कर्जाहरू पाउनेछन्। त्यस्तै वैदेशिक रोजगारीबाट फर्केका उद्यमी,कृषि उत्पादन तथा प्रशोधन, पशुपंक्षी पालन, ह्याचरी, मत्स्यपालन आदिमा प्रवाहित कर्जाहरु, कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण, उत्पादनमुलक क्षेत्र र लघु, घरेलु तथा साना उद्यमीहरुले यो कर्जा पाउनेछन्।

त्यस्तै विशेष पुर्नकर्जाका लागि सञ्चालनमा रहेका निर्यातजन्य उद्योग,व्यवसाय न्यून आय भएका महिला, आदिवासी, जनजाति, मधेशी, दलित, फरक ढंङबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसाय, रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र, वैदेशिक रोजगारीमा जाने कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रहरुले पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *