आफ्नै परिवारको पीडाबाट जन्मिएको ‘जहाजै चढेर…’

डिसी नेपाल
१ भदौ २०७७ १४:४४

काठमाडौं । पछिल्लो केही दिनयता एउटा गीतले निकै चर्चा पाइरहेको छ । अमृत क्षेत्री र मेलिना राइको सुमधुर स्वरमा रहेको ‘जहाजै चढेर’ बोलको गीतले परदेशमा भएका नेपाली र उनीहरुका आफन्तको पीडालाई दर्शाएको छ ।

गीतमा अमृतकै शब्द तथा संगीत छ । लाहुरे परिवारमा जन्मिएका अमृतले आफ्नो परिवारको पीडा गीतमा उतारेका छन् । अमृतका बुबा ब्रिटिस आर्मी थिए, पछि उनका काका, दाजुहरु सबैले अमृतको बुबाकै बाटो रोजे । आँखामा आँसु बोकेर आफन्तको बाटो हेरेर बस्ने परिवारका सदस्यको पीडा देखेर नै यो गीत लेख्न पुगेको अमृत बताउँछन् ।

उनी भन्छन्, ‘मेरो पूरै परिवार नै परदेशको जागिरमा थियो । घरमा परिवारका सदस्यहरु उहाँहरुकै बाटो हेरेर दिन कटाउँथे । उहाँहरुको पीडा मैले नजिकबाट देखेको छु ।’ उनी अगाडि थप्छन्, ‘मेरो जस्तै परदेशमा बस्नुहुने नेपाली र उहाँहरुका आफन्तहरुको पीडालाई गीतमार्फत सम्बोधन गर्न खोजेको छुँ । यो गीतले थोरै भएपनि उहाँहरुका पीडालाई कम गर्न मद्दत गर्ने विश्वास लिएको छु ।’

युट्यूवमा धेरै भ्यूज गयो भन्दैमा गीत मन पराएको भन्न मिल्दैन

पछिल्लो समय दर्शकले गीत मन पराए पराएनन् भन्ने कुरा ‘युट्यूवको भ्यूज’ हेरेर भन्ने चलन छ । जुन गीतमा धेरै भ्यूज आयो अथवा जुन गीत ट्रेण्डिङमा आयो सोही गीतलाई सफल मान्ने प्रचलन छ । तर, गायक अमृत यसमा त्यति सहमत छैनन् ।

उनका अनुसार युट्यूवमा अहिले बुस्ट गर्ने प्रचलन छ । जसले गर्दा अहिले राम्रा गीतहरु अगाडि आउन पाइरहेका छैनन् । बुस्ट गरेपछि जस्तोसुकै गीत पनि सजिलै धेरै मानिसमा पुग्छ । र त्यसरी धेरै हेरिएको गीतलाई सफल गीत भन्न मिल्दैन ।

उनी भन्छन्, ‘धेरै हेरिएका सबै गीत नराम्रा भनेको होइन । तर, केही गीत बुस्ट गरेकै भरमा धेरै मानिसमा पुग्छन् । धेरै भ्यूज आउँदैमा त्यस्ता गीतलाई मन पराएको भन्न मिल्दैन । मन परेर हेरेको एउटा भयो र जबर्जस्ती पुर्‍याएर हेरेको एउटा भयो ।’

पछिल्लो समयमा प्रचलनमा रहेका केही गीतहरुमा उनी सन्तुष्ट छैनन् । ‘पुरानै धारमा पुरानै शैलीमा अगाडि बढ्छु भनेर सम्भव छैन । समयसँगै परिवर्तन हुनुपर्छ । तर, सृजना सृजनाजस्तो हुनुपर्‍यो जसले पछिसम्म नेपाली सांंगितिक क्षेत्रलाई अगाडि बढाउन मद्दत गरोस् । र, पुराना श्रष्टाहरुलाई पनि अन्याय नहुने गरेर हामीले काम गर्नुपर्‍यो’ उनी भन्छन् । उनलाई लाग्छ भाइरल हुनको लागि सबै गरियो भने त्यो लामो समय चल्दैन । त्यसैले क्षणिकलाई मात्रै नसोची भोलिको पुस्ताले पनि सम्झिने गरी राम्रो काम गर्ने उनको सोच छ ।

अमृत २०५९ सालमा मुम्बई हानिएका थिए । उनले त्यहाँ झण्डै ५ वर्ष संगीत सिके । उनले संगीत सिकेर नेपाल आएपछि २०६१ सालमा पहिलो एल्वम ‘अराइभल’ निकालेका थिए । सोही एल्वममा समावेश ‘किन आएन जोगी’ भन्ने गीतले चर्चा पाएको थियो । त्यस्तै उनले २०६४ सालमा ‘समवान’ नामक दोस्रो एल्वम सार्वजनिक गरे । जसबाट ‘मेरो अन्तिम इच्छा’ बोलको गीतले चर्चा बटुलेको थियो ।

यस्तै, उनका ‘मैले हेर्ने एउटा तारा’, ‘जे गरेनी जसो गरेनी चल्छ नेपालमा’, ‘मगमग’ लगायतका गीतले उनलाई थप चिनाउन मद्दत गरेको थियो ।

उनले संगीतमा रुचि राख्ने बालबालिकाहरुलाई सपोर्ट गर्न ललितपुरको झम्सिखेलमा सुरशाला म्युजिक एकेडेमी संचालनमा ल्याएका छन् । यसैमा सुरशाला फाउण्डेशन गरी दुइवटा संस्था रहेका छन् । उनले यही गायन स्कुलबाट बालबालिकालाई गायक प्रशिक्षण दिँदै आएका छन् ।
नेपालमा ‘सुरशाला आईडल जुनियर’ नामक बालगायन प्रतियोगीता पहिलो पटक यही एकेडेमीले गरेको थियो ।

जसबाट प्रितम आचार्य र आयुश केसी चर्चामा आएका थिए । सुरशालामा अमृतले नै सिकाएका प्रितम आचार्य र आयुष केसी भारतीय रियालिटी शो ‘सारेगमप’मा क्रमशः तेस्रो र चौथो भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *