सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णविराम
काठमाडौं। ऋतम्भरा नसिध्याई मर्दिन’ कत्रो आत्मविश्वास ‘मसँग काल पराजित छ’ राष्ट्रकवि निवास लैनचौरमा हामी साहित्यकार तुलसीहरि कोइराला र म सँगको एक भेटमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले भनेेका थिए। अब एक सर्ग बाँकी छ, केहीको परिमार्जन गर्नुछ। एकलब्य, एकचित्त र निरन्तरताका साथ एउटा महायात्रा बिसाइ दिए कविजीले। अब भन्ने छैनन् छैन म ऋतम्भरा पूरा गर्नेछु। त्यसो त उनको सम्पूर्ण जीवन नै ऋतम्भराको यात्रा थियो, चित्तवृत्ति निरन्तरता र सत्य स्वीकार। कविजीले सत्य स्वीकार गरे। कालसँग पराजित हुनुभएन तर सम्झौता गरिदिए ‘इतिसम्बत् २०७७ भदौ २ गते ।’ बाहुनडाँडाको पुस्तुनबाटमा सुरु भएको ऋतम्भराले लैनचौरमा महापरिनिर्माण लियो।
राष्ट्रकवि माधवप्रसाद घिमिरेकोे आज भदौ २ गते मङ्गलबार साँझ आफ्नै निवास लैनचोरमा निधन भएको खवरले नेपाल र नेपाली स्तब्ध छन्। परिष्कारवादी सौन्दर्य लेखनको एउटा अध्यायमा पूर्णबिराम लागेको छ। देवकोटा र लेखनाथ जोड्ने साँघु भत्केको छ । शताब्दी पूर्व १९७६ साल असोज ७ गते लमजुङ जिल्लाको पुस्तुनमा उम्रिएको बिरुवा राजधानीमा झाङियो। फुल्यो र फल्यो । फल्नुको सत्य झर्नु पनि थियो। झ-यो ऋतम्भराको सन्देशमा। सत्यको अठोटमा र विश्वासमा।
माधवप्रसाद सिर्जित हरियो वन थियो निर्मित वाटिका मात्र होइन। अथाह क्षेत्रफलमा फैलिएको पुस्तुनको हरियो वनमा के उपलब्ध थिएन रु कविता, गीत, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध, संस्मरण। अक्षरका लता रहरामै पहराले गाइएका स्वर थिए घिमिरे। नेपाली स्वाद थिए घिमिरे। वि.सं. १९९२ को गोरखापत्रमा १४ वर्षे लोर्के जोबानमा छपाएको कविता ज्ञानपुष्पबाट लेखकीय यात्रा गरेका कविजी विं.सं २००१ सालमा गोरखापत्रमै सहायक सम्पादक भएर अक्षरको किसानीमा थप सक्रिय भए। जीवनको अन्त्यसम्म पनि अक्षर कै अक्षांशमा उनको यात्रा चलिरह्यो। निरन्तर, एकाग्रता, चित्ताग्र अर्थात् ऋतम्भरा।
आँशुले लेखिएको गौरी वा आत्माले बोलेको ‘नेपाली हामी रहूँला कहाँ।।’कालजयी मात्र छैनन् लोकगेय पनि छन्। ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ जस्ता कविता सङ्ग्रहले नेपाली साहित्यको भकारी भरेका मात्र छैनन् सिंगारेका पनि छन्। स्वच्छन्द मा परिष्कारको पुट हालेर नेपाली छन्दको चुचुरो उचाल्ने उनले ज्योतिको पङ्खमार्फत् सुन्दर शान्त नेपाललाई लयदार बनाए। गेय बनाए। नेपालीका लागि साझा गीत मात्र होइन रीत पनि सिकाए। गोरखापत्र दैनिकबाट
Facebook Comment