पशुपति आर्यघाटमा एक युगको अवसान (फोटोफिचर)

काठमाडौं। राष्ट्रकवि माधव प्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। १०२ वर्षको उमेरमा मंगलबार साँझ घिमिरेले देह त्याग गरेका थिए।
नेपाली सेना र सशस्त्र प्रहरीको १/१ टुकडीले दिएको सलामीसहित उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको हो। नेपाली सेनाका मानार्थ विग्रेडियर जनरल समेत रहेका घिमिरेको शव नेपाली सेनाले नै स्कर्टिङ गरेर पशुपति आर्यघाट पुर्याएको थियो।
‘नेपाली हामी रहौंला कहाँ’, ‘गाउँ छ गित नेपाली’ जस्ता राष्ट्रभक्ति गितबाट नेपाली जनमनमा लोकप्रिय र त्रिभुवन विश्वविद्यालयबाट २०७२ सालमा महाविद्यावारिधी तथा २०७४ मा नेपाली सेनाबाट मानार्थ व्रिगेडियर जनरल लगायतका विभिन्न राष्ट्रिय सम्मानबाट सम्मानित भएका घिमिरेको भौतिक शरीर पनि रहेन अब।
लमजुङको पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखबाट जेठा सन्तानका रुपमा जन्मिएका घिमिरेले जेठी श्रीमती गौरीको निधनपछि ‘गौरी’ शोककाव्य रचना गरेका थिए।
अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन्। महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा राष्ट्रकवि घिमिरेका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्रह प्रकाशित छन्।
Facebook Comment