४१ जिल्लामा निषेधाज्ञा र लकडाउन
काठमाडौं। सरकारले कोरोना संक्रमणको दर बढ्दै गएपछि ४१ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेको छ। गृहमन्त्रालयका अनुसार जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले गरी ४१ जिल्लामा निषेधाज्ञा र लकडाउन जारी गरेका हुन्।
सरकारले साउन ७ गते पूर्ण रुपमा लकडाउन खोलेपछि कोरोना संक्रमण बढेका कारण भयावह रुप लिने र महामारी फैलनसक्ने संभावनालाई ध्यान दिएर निषेधाज्ञा र लकडाउन जारी गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बूढाका अनुसार संक्रमणको दर बढ्दै गएपछि अधिकांश जिल्लाहरुमा लकडाउन गरिएको र केही जिल्लामा निषेधाज्ञा जारी गरिएको हो। उनका अनुसार कतै निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यक बाहेकका व्यवसायमा रोक लगाएका छन्।
‘संक्रमक रोक भयावह रुपमा बढिरहेको छ यस्तो अवस्थामा बाहिर निस्कने अवस्था छैन त्यसकारण निषेधाज्ञा जारी गर्नुपरेको हो’, मन्त्रालयका प्रवक्ता बुढाले भने।
मन्त्रालयले दिएको तथ्यांक अनुसार ती जिल्लाहरुमा आंशिक तथा पूर्ण लकडाउन गरिएको छ।
२८ जिल्लामा स्थानीय प्रशासनले संक्रामक रोग नियन्त्रण ऐनअनुसार निषेधाज्ञा जारी गरेका छन् भने अन्य जिल्लामा स्थानीय तहले लकडाउन लागू गरेका छन्। धेरैजसो स्थानमा स्थानीय तह सक्रिय भएर लकडाउन जारी गरेका हुन्।
काठमाडौं, ललितपुर, भक्तपुर,पर्सा, सप्तरी, बाँके, बारा, सुनसरी, सर्लाही, स्याङ्जा, बर्दिया, रौतहट, कपिलवस्तु, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, रामेछापमा जिल्लाभरि नै लागू हुने गरी निषेधाज्ञा लागू गरिएको छ।
ग्रामीण क्षेत्रमा केही खुकुलो भए पनि ती जिल्लाका सहरी क्षेत्र भने बन्द रहेको मन्त्रालयले जनाएको छ। नुवाकोटमा ६ स्थानीय तहमा निषेधाज्ञा छ भने जिल्लाभरि नै अत्यावश्यक बाहेकका सेवामा रोक लगाइएको छ।
त्यस्तै, चितवन, पाल्पा, सुर्खेत, धनकुटा, उदयपुर, तनहुँ, रुकमु पश्चिम, धादिङ, मकवानपुर, कञ्चनपुर, झापा, दार्चुला, मोरङ, बझाङ, जुम्ला, सिराहा, महोत्तरी, धनुषा, काभ्रेपलाञ्चोकमा आंशिक लकडाउन छ।
सरकारले लकडाउन हटाएपछि संक्रमण धेरै देखिएका जिल्लामा निषेधाज्ञामार्फत लकडाउन लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ। कतिपय स्थानीय तहले जिल्ला प्रशासनसँग समन्वय गरी आफ्नो क्षेत्रमा लकडाउन लागू गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रमुख जिल्ला अधिकारीलाई जुनसुकै बेला निषेधाज्ञा जारी गर्ने अधिकार प्रत्ययोजन गरेको थियो।
सरकारले दुई सयभन्दा धेरै संक्रमित भएको जिल्लालाई ‘रेडजोन’ मा राखेपछि सो अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो। हाल काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके ‘रेडजोन’ मा छन्। बुधबारदेखि काठमाडौ उपत्यकामा पनि एक हप्ता निषेधाज्ञा जारी गरिएको छ।
Facebook Comment