छायाँ सरकारका कृषिमन्त्री भन्छन् : सरकारको उदासिनताले कृषि मल अभाव भयो
काठमाडौं। खेतिपातीको मौसममा कृषि मलको अभाव भएपछि सरकारको आलोचना भएको छ। सबैतिरबाट आलोचना हुँदा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बनाएको छायाँ सरकारका कृषिमन्त्री पद्म नारायण चौधरीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उदासिनताका कारण कृषि मलको अभाव भएको बताएका हुन्। काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाको संजकत्वमा गठन गरिएको विभिन्न मन्त्रालय समन्वय समितिमा चौधरीलाई कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
चौधरीले भनेका छन्, ‘पूर्व तयारी गरी समयमै मल उपलब्ध गराउनु पर्नेमा समय गुज्रिसक्दा पनि मल उपलब्ध गराउनु नसक्नु वर्तमान सरकार कृषि र कृषकहरु प्रति उदासिन रहेको प्रष्ट भएको छ। सरकारको यस किसिमका क्रियाकलापले कृषि र कृषकहरुलाई निरुसाहित गर्ने कार्य गरेको छ। सरकारी निकायको यस्तो गैरजिम्मेवार र लापरवाही प्रति गम्भीर अपात्ति प्रकट गर्दछौं।’
उनले गरिब किसानहरुले दुःखकष्टका साथ लगाएको धानबालीनाली पहेलिएको अवस्थामा समयमै मल नहाल्दा बाली विग्रीने, उत्पादनमा ह्रास आउने भन्दै चिन्ता प्रकट गरेका छन्।
उनले भनेका छन्, ‘कोरोना महामारी, बाढीपहिरो डुवानको प्रकोप, त्यसमा अझ थप मल अभावको कारण कृषकहरु पीडामा छन्। आफूले लगाएको बाली नष्ट हुने, श्रम खेर जाने र खाद्यान्नको अभाव हुने कुरामा चिन्तित छन्। तसर्थ कृषकहरुको पीडावोध गरी तत्काल निकासको बाटो खोजी सहज तथा सुलभका साथ मल उपलब्ध गराउनका लागि सरकार समक्ष जोडदार माग गर्दछौं ।त्यसै गरी हिउँदे वालीको लागि कृषकलाई आवश्यक पर्ने मलको अभाव हुन नदिन पूर्व तयारी गर्न र गम्भीर हुनका लागि सचेत गर्दछौं।’
Facebook Comment