इन्द्रध्वजोत्थानका लागि रुख नकाटिने : जात्रा स्थगित
काठमाडौं । यस वर्ष इन्द्रजात्राका लागि इन्द्रध्वजोत्थान गर्न रुख नकाटिने निर्णय भएको गुठी संस्थानले जनाएको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर बुधबार रातिदेखि निषेधाज्ञा जारी गरिएपछि इन्द्रध्वजोत्थानका लागि रुख नकाटिएको इन्द्रजात्रा सञ्चालन गर्ने जिम्मेवारी पाएको संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । नेपाल पञ्चाङ्ग निर्णायक समितिले इन्द्रजात्राको लिङ्गो उठाउन रुख काट्ने साइत आज राति ९ः२५ बजेको दिएको थियो ।
जात्राको लिङ्गो काट्न वन यात्रा जाने साइत आज बिहान ११ः१५ बजे दिइएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । काटिएको लिङ्गो नगर प्रवेश गराउन साइत भदौ १० गते बुधबार बिहान १०ः५५ बजे शुभ रहेको समितिले जनाएको थियो । लिङ्गो भोटाहिटीबाट भित्र प्रवेश गराउनुलाई नगर प्रवेश भनिन्छ ।
भाद्र शुक्ल द्वादशीका दिने भदौ १४ गते आइतबार बिहान ७ः०७ बजे इन्द्रध्वजोत्थान गर्ने साइत समितिको बैठकले दिएको छ । भाद्र शुक्ल चतुर्दशीका दिन भदौ १६ गते कुमारी यात्रा शुरु हुन्छ । यो इन्द्रजात्राको मुख्य दिन हो । यसपटक भने कोरोनाका कारण जात्रा स्थगित गरिएको छ । यस दिन उपत्यकामा सार्वजनिक बिदा समेत दिइने परम्परा छ । त्यस दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने परम्परा छ । भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीन परम्परा छ ।
आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपातन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानीको ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको थियो । कोरोनाका कारण यी विधि नहुने भएपछि जात्राको मुख्य दिन भदौ १६ गते क्षमा पूजा गर्ने तयारी गरिएको संस्थानले जनाएको छ ।
इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारी लगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भीड भाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रा समेत हुन सकेको छैन ।
Facebook Comment