काठमाडौं महानगरमामात्र १२ सय संक्रमित, ७ जनाको मृत्यु, एकजना सम्पर्कबिहीन

डिसी नेपाल
४ भदौ २०७७ २१:३४

काठमाडौं। कोरोना संक्रमितको संख्या देशभर बढेसँगै राजधानी काठमाडौंमा पनि दैनिक कोरोना संक्रमित हुनेको संख्या बढिरहेको छ। काठमाडौं उपत्यकाको काठमाडौं महानगरपालिका भित्रमात्र १ हजार १ सय ९९ जना संक्रमित भएका छन्। महानगरपालिका स्रोतका अनुसार महानगरका सबै ३२ वटै वडामा संक्रमित फेला परेका छ। यो तथ्यांक गत मंगलबारसम्मको हो।

काठमाडौंस्थित विभिन्न प्रयोगशालामा भएको कोरोना परीक्षणको रिपोर्ट बिहीबार बेलुकासम्म महानगरमा नपुगेकाले हामीले मंगलबारसम्मकोमात्र तथ्यांकलाई यहाँ प्रस्तुत गरेका हौं। बुधबार काठमाडौं जिल्लामा १३७ जना र बिहीबार १७४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, यी दुई दिनको रिपोर्ट महानगरमा नपुगेकाले काठमाडौं महानगरपालिकाको बिहीबारसम्मको तथ्यांक प्राप्त गर्न सकिएन।

सबैभन्दा धेरै महानगरको वडा नम्बर ३२ कोटेश्वरमा संक्रमित भएका छन्। महानगरपालिकाको गएको मंगलबारसमम्को तथ्यांक अनुसार कोटेश्वरमा ९२ जना संक्रमित छन्। यस्तै वडा नम्बर ३ को महाराजगञ्ज क्षेत्रमा ७१ जना संक्रमित रहेको महानगर स्रोतले जनाएको छ। वडा नम्बर १४ कलंकी क्षेत्रमा ६७ जना संक्रमित छन् भने वडा नम्बर १६ को बालाजु क्षेत्रमा ६३ जना संक्रमित छन्। यस्तै वडा नम्बर २७ को इनबाहाल क्षेत्रमा ५० जना संक्रमित छन्।

महानगर भित्र हाल होम आइसोलेशनमा बस्नेको संख्या ३४२ छ। यस्तै ७ जनाको मृत्यु भइसकेको छ। एकजना संक्रमित हालसम्म सम्पर्कमा नआएको महानगरपालिका स्रोतले जनाएको छ। काठमाडौं ठेगना भएकी संक्रमित युवती सम्पर्कमा नआएको महानगर स्रोतले जानकारी दियो। बाँकी संक्रमित भने काठमाडौंका विभिन्न अस्पतालमा छन्।

यस्तै महानगरपालिकाका अनुसार महानगरपालिका भित्र ठेगना नखुलेका १६४ जना संक्रमित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *