घरैमा बसेर, स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउँन उपराष्ट्रपति र सभामुखकाे अनुराेध

डिसी नेपाल
५ भदौ २०७७ ७:२७

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वव्यापी महामारी कोरोना भाइरस देशव्यापी फैलिएको अहिलेको प्रतिकूल अवस्थामा यसपालीको तीज घरैमा बसेर मनाउन सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन्।

नेपाली हिन्दू महिलाहरुको महान् पर्व हरितालिका तिज–२०७७ को अवसरमा आज शुभकामना दिँदै उनले सरकारको आग्रह र स्वास्थ्य सुरक्षालाई ध्यान दिएर तीज मनाउन पनि आपिल गरेका छन्। कोेरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदममा पूर्ण साथ दिन अपिल गर्दै उपराष्ट्रपतिले कोरोनाको संक्रमणबाट जोगिन नागरिक आफै पनि सचेत र जिम्मेवार हुन आवश्यक रहेको बताए।

सबै नेपाली एकजुट भएर धैर्यतापूर्वक कोराना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्नुको विकल्प नभएको उल्लेख गर्दै उनले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि तीनैतहका सरकारले चालिरहेका कदम अझै प्रभावकारी बनाउन जोड दिए।

कोरोना सङ्क्रमणबीच थुप्रै सांस्कृतिक तथा धार्मिक चाडपर्व आएका र यसबाट परिस्थितिअनुसार चाडपर्व मनाउनुपर्दछ भन्ने पाठ पनि सिकेको उल्लेख गर्दै उपराष्ट्रपतिले कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउने र आगामी वर्षमा तीजलगायतका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु पुनः उल्लासमय वातावरणमा मनाइने विश्वास व्यक्त गरे।

हरितालिका तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्दै उनले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
यसैबीच, सभामुख अग्निप्रसाद सापकोटाले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका साथ तीज पर्व मनाउन दिदीबहिनीलगायत सबैमा अनुरोध गरेका छन्। हरितालिका तीज २०७७ का अवसरमा शुभकामना दिँदै उनले नोभल कोरोना भाइरसको महामारीका कारण विगतमा जसरी यो पर्व मनाउने अवस्था नरहेको बताए।

कोरोनाका कारण उत्पन्न महामारी दिनप्रतिदिन विस्तारित र जोखिमपूर्ण भइरहेको उल्लेख गर्दै उनले उच्च सतर्कता अपनाउँदै पर्व मनाउन आह्वान गरे। हरितालिका तीज पर्वको माध्यमबाट सामाजिक सद्भाव र पारिवारिक एकतामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले तीज पर्व सम्पूर्ण दिदीबहिनीको स्वतन्त्र, सुरक्षित र सम्मानपूर्ण जीवन यापन गर्नसक्ने वातावरण बनाउने बहसको अवसर पनि बनोस् भनी कामना गरे।

यसैगरी, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि तीजका अवसरमा शुभकामना दिँदै उच्च सतर्कताका साथ पर्व मनाउन सबैमा अनुरोध गरेका छन्। “चाडपर्वहरू मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ,” उनीद्वारा जारी सन्देशमा उल्लेख छ, “पारिवारिक मिलन र सामाजिक सद्भावपूर्ण यस पर्वमा समेत जमघट गर्न अहिलेको समय प्रतिकुल भएकाले सम्पूर्णमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै मनाउनुहुन हार्दिक अनुरोध गर्दछु ।”रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *