भरतपुर अस्पतालका सेवा शुरु

डिसी नेपाल
५ भदौ २०७७ ९:५८

चितवन । चिकित्सक, स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि प्रभावित भएको भरतपुर अस्पतालको सेवा सञ्चालनमा आएको छ। अस्पतालका ५ चिकित्सक, २ स्वास्थ्यकर्मी र १ जना सहयोगीमा कोरोना सङ्क्रमण भएपछि पाँच दिनदेखि प्रभावित सेवा बिहीबार साँझदेखि सञ्चालनमा आएको हो।

अस्पतालले आकस्मिक सेवा मात्र दिँदा बिरामी प्रभावित भएका थिए । अस्पतालका सेवा सञ्चालन भएसँगै बिरामी आउन थालेको अस्पतालका स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले बताए। गएराति मात्र ३ प्रसुतीका बिरामीमा समस्या आएपछि अस्पतालबाट सेवा उपलब्ध गराएको उनको भनाइ छ। निजी अस्पतालले नहेरेका र आर्थिक कारणले अन्य अस्पताल जान नसकेका बिरामी सरकारी अस्पताल आउने थालेको उनले बताए। सापकोटाले भने, “हाम्रो विभागको विभागीय प्रमुख बाहेक सबैको कोरोना नेगेटिभ देखिए पछि हामी उपचारमा जुटेका छौँ।”

बिरामीमा सङ्क्रमण भएमा राख्नका लागि ठाउँ व्यवस्थित गर्नुपर्ने उनको भनाइ छ । अस्पतालका अधिकांश चिकित्सक कर्मचारीको कोरोना परीक्षण नेगेटिभ आएको सूचना अधिकारी लिलाधर पौडेलले बताए। केहिको मात्र रिपोर्ट आउन बाँकी रहेको र भोलि सम्ममा नतिजा आउने उनको भनाइ छ। अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालका अधिकांश सेवा शुरु भएको बताए। सघन उपचार कक्षमा शुरु भैनसके पनि निर्मलीकरण भै सकेकाले सब सञ्चालान गर्न सकीने उनले बताए।

हाल जिल्लाका अधिकांश निजी अस्पताल र मेडिकल कलेजमा पनि कोरोना सङ्क्रमीत उपचार गर्न थालिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका पूर्ण पालना गरेर सङ्क्रमितको सरकारी अस्पतालमा उपचार भएकाले बिरामीले डराउनुपर्ने अवस्था नरहेको अधिकारीको भनाइ छ । भरतपुर अस्पतालमा चितवन सहीत १९ जिल्लाका बिरामी उपचारका लागि आउँछन् । यो अस्पताल प्रसुतीका लागि अग्रणी मानिन्छ । वार्षिक १३ हजार हाराहारी प्रसुतीका लागि आउने गरेको तथ्याङ्क छ । बीमाको सुबिधासमेत यहाँ भएकाले अस्पतालबन्द हुदाँ बिरामी प्रभावित भएका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *