‘याे सामान्य अवस्था हाेइन, पशुपति दर्शन गर्न नगएपनि अपजस लाग्दैन’

डिसी नेपाल
५ भदौ २०७७ १०:३४

काठमाडौं। कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो।

भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे।

यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान छ । काठमाडौँ उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ।

कोरोनाको महामारी नभएको पशुपति क्षेत्र विकास कोषका पदाधिकारी एवम् कर्मचारीलाई तीजको मेला व्यवस्थापनका लागि बिहानैदेखि पशुपति क्षेत्रमा सक्रिय हुनुपथ्र्यो।

यसअघिका वर्षमा पशुपतिनाथ लगायत विभिन्न शिवालयमा हिन्दू महिलाले पूजा आराधना गरी मनाउने तीज यो वर्ष कोरोना भाइरसका कारण मठ मन्दिर बन्द भएका कारण हरितालिका तीज प्रभावित भएको हो।

हिन्दु महिलाले मनाउने तीज कहिलेदेखि सुरु भएको भन्ने कुनै ऐतिहासिक तथ्य प्रमाण छैन। तर लिच्छवीकालदेखि नै तीज मनाउन थालिएको संस्कृतिविद् डा. गोविन्द टण्डन बताउँछन्।

राजतन्त्र रहेका बेलामा प्रत्येक वर्ष तीजका दिन रानी पशुपतिनाथको दर्शन गर्न जाने चलन थियो। गणतन्त्र स्थापना भएपछि पनि पूर्व रानी पशुपतिनाथको दर्शन गर्न जाने चलन थियो।

अहिले महिला राष्ट्रपति भएका कारण यसअघिका वर्षमा राष्ट्रपति विद्यादेवी भण्डारी तीजमा पशुपतिनाथको दर्शन गर्न जाने गर्थिन्। तर यो परम्परा यो वर्ष तोडिएको छ। कोरोनाको उच्च जोखिम भएसँगै सरकारले गत चैत ११ गतेदेखि लगाएको लकडाउन गरेपछि आजका मितिसम्म पशुपतिनाथ मन्दिर बन्द गरिएको छ।

‘अहिले नेपालमा मात्रै नभएर विश्वका अन्य मुलुकमा पनि मठ मन्दिर, गुम्बा वा चर्च बन्द भएका छन्,’ संस्कृतिविद् टण्डनले डिसी नेपालसँग भने, ‘अहिलेको परिस्थिति मानव जातिले कल्पना गरेको भन्दा भिन्न हो। यसबाट नेपाल पनि अछुतो रहन सकेन।’

उनले तीज कहिलेदेखि मनाउन सुरु गरियो भन्ने कुनै तथ्य प्रमाण नभएपनि लिच्छवीकालदेखि मनाउन थालिएको बताए। ‘तीजमा जहाँ मन्दिर छ, त्यहाँ दर्शन गर्न जाने परम्परा छ। तीज भनेको हिन्दु संस्कृतिभित्रको पर्व हो,’ टण्डनले भने, ‘भगवान पशुपतिनाथको महिना वेदमा पनि उल्लेख छ, त्यसमा पनि राष्ट्रदेव र आराध्यदेव भएको हुनाले तीजमा पशुपतिनाथमा दर्शन गर्न जाने चलन चल्दै आएको हो।’

तीजमा पशुपतिनाथको दर्शन गर्ने परम्परा विगत देखि नै चल्दै आएको भनेपनि यो वर्ष कोविड–१९ कारणले संभव नभएको उल्लेख गर्दै उनले यसलाई सामान्य रुपमा लिनुपर्ने बताए।  डा. टण्डनले अहिले अवस्थामा राष्ट्रपतिका लागि मात्रै पशुपतिनाथको ढोका खुल्ला गर्न नमिल्ने भएकाले सबैले घरभित्रै बसेर तीज मनाउन आग्रह गरे।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *