निषेधाज्ञामा पनि रेमिट्यान्स भुक्तानी दिन राष्ट्र बैंकको निर्देशन
काठमाडौं। नेपाल राष्ट्र बैंकले विदेशमा कार्यरत नेपालीहरुले परिवारका लागि पठाएको पैसा भुक्तानीको व्यवस्था मिलाउन रेमिट्यान्स कम्पनीलाई निर्देशन दिएको छ ।
विदेशमा कार्यरत नेपालीले पठाएको पैसा यहाँका आफन्तले भुक्तानी पाउन नसक्दा घरव्यवहार चलाउन पनि अप्ठ्यारो पर्न सक्ने देखिएको भन्दै राष्ट्र बैंकले स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेशको परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
शुक्रबार निर्देशन जारी गर्दै विनिमय ब्यवस्थापन विभागले स्थानीय प्रशासनसँग समन्वय गरी कर्मचारीलाई आलोपालो गरी निश्चित समयका लागि रेमिटेन्स काउन्टर खोल्न भनेको हो ।
स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर काउन्टर खोल्न र बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्न र राष्ट्र बैंकले निर्देशन दिएको छ।
सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंकमार्फत हुने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।
बैंकका शाखा खुले
यसैबीच निषेधाज्ञा गरिएको पहिलो दिन बिहीबार बन्द रहेको बैंक तथा वित्तीय संस्थाको सेवा शुक्रबार भने सुचारु भएको छ ।
गृह मन्त्रालयको निर्देशनसँगै प्रहरीले बैंकका कर्मचारीलाई परिचय पत्रका आधारमा हिँड्न दिएको छ ।
प्रशासनसँग बैंकहरु न्यूनतम कार्यालय मात्र खोलेर थोरै कर्मचारीबाट सेवादिने प्रतिवद्धता गरेका छन् ।
Facebook Comment