कोरोना कहरः सर्वाधिक एकैदिन ११ जनाको मृत्यु

डिसी नेपाल
५ भदौ २०७७ १७:०५

काठमाडौं। शुक्रबार सार्वजनिक गरिएको तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १३७ पुगेको छ। त्यसमध्ये पछिल्लो २४ घण्टामामात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित आयोजना गर्ने कोरोना अपडेटमा जानकारी दिइएको छ।

शुक्रबार मृत्यु हुनेमा एक महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका कोरोना संक्रमितको मृत्यु भएको हो।

एक दिनमा ११ जनाको मृत्यु हालसम्मकै धेरै हो। यसअघि गएको साउन २८ गते एकै दिन १० जनाको मृत्यु भएको थियो। नेपालमा कोरोना देखिएको ५ महिनापछि पहिलो मृत्यु गएको जेठ ४ मा भएको थियो भने यो तथ्यांक साउनमा १०० नाघे हो।

भदौ लागेपछि मृत्यु दर झन बढिरहेको छ। साउनको अन्तिम दिन ३२ गतेसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १०४ थियो। त्यसपछि शुक्रबार भदौ ५ गतेसम्म थप ३३ जनाको मृत्यु भएको छ। यो पाँच दिनमा दैनिक ६ जनाभन्दा धेरैको मृत्यु भएको छ।

असाढ १ गतेबाट सरकारले लकडाउन खुकुलो गरेपछि मृत्यु दरले रफ्तार समातेको थियो भने साउन ६ गते लकडाउन अन्त्य भएको घोषणा गरेपछि मृत्यु दर ह्वात्तै बढेको छ। साउन १ गतेसम्म मृतकको संख्या ३९ जना थियो भने साउन ६ गतेसम्म ४२ जनाको मृत्यु भएको थियो। त्यसयताको एक महिनाको अवधिमा ९५ जनाको मृत्यु भएको सरकारी तथ्यांकले देखाएको छ।

यसरी मृत्यु दर र संक्रमितको दर पनि बढेपछि सरकारले देशका विभिन्न करिब ५० जिल्लामा निषेधाज्ञा जारी गरेको छ। र निषेधाज्ञालाई कडा पारिएको छ। केही जिल्लाहरुमा त सेना समेत परिचालन गरिएको छ।

खास गरी देशको सबैभन्दा धेरै जनघनत्व भएका काठमाडौं महानगरपालिका, वीरगञ्ज महानगरपालिका र विराटनगर महानगरपालिकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ। शुक्रबार थपिएका ८३८ सहित नेपालमा कोरोना संक्रमितको संख्या ३०,४८३ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *