कोरोना नियन्त्रणका लागि साउन मसान्तसम्म साढे १३ अर्ब खर्च

डिसी नेपाल
५ भदौ २०७७ २०:४६

काठमाडौं। कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको खर्चको विवरण शुक्रबार सार्वजनिक गरिएको छ। सरकारले कोरोना भाइरस नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको हो।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि एवं अर्थमन्त्री डा युवराज खतिवडाले खर्चको विवरण सार्वजनिक गरे। उनका अनुसार सरकारले गत चैतबाट साउन मसान्तसम्म कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १३ अर्ब ३६ करोड ७० लाख रुपैयाँ बराबरको खर्च गरेको छ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि संघीय सञ्चित कोषबाट ५ अर्ब ८५ करोड रुपैयाँ खर्च गरिएको छ। विवरणअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट २ अर्ब १७ करोड खर्च भएको छ। रक्षा मन्त्रालयबाट २ अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट ६ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ४ करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट १ करोड २९ लाख रकम खर्च भएको छ।

कोरोना संकट रोकथाम कोषबाट १ अर्ब ३ करोड विभिन्‍न निकायलाई दिइएको मन्त्री खतिवडाले जानकारी दिए । उनले प्रदेशबाट १ अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको जानकारी दिए। उनका अनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड २ लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ। यस्तै गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ खर्च भएको उनले बताए।

स्थानीय तहबाट ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको छ। सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टिन व्यवस्थापनमा खर्च भएको उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *