उपत्यकामा २१६ सहित थप ६३४ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

डिसी नेपाल
६ भदौ २०७७ १६:२४

काठमाडौं । शनिबार उपत्यकामा २१६ सहित देशभर ६३४ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ६३४ संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा १६० जना, भक्तपुरमा ५० जना र ललितपुरमा ६ जना गरी काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३१ हजार ११७ पुगेको छ।

हालसम्म १८ हजार ३५० जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १३६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको छ। गत २४ घण्टामा १२ हजार ५१९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ। यस्तै ११ हजार ६५८ जना क्वारेन्टिनमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *