नेकपाको कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौं। सत्तारुढ दल नेकपामा देखिएको विवाद समाधानका लागि आवश्यक सुझाव दिन गठन गरिएको कार्यदलले शनिबार प्रतिवेदन बुझाएको छ। कार्यदलले पार्टीका दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार तथा नेकपा प्रचार विभागका उपप्रमुख सुर्य थापाले जानकारी दिए।
थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डूद्वारा साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेको छ। आज भदौ ६ गते साँझ ४ः४५ बजे प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइएको छ।’
पार्टीको स्थायी कमिटी बैठकमा ओली इतर समुहले प्रधानमन्त्री वा पार्टी अध्यक्ष पदबाट राजीनामा दिन माग गरेपछि नेकपामा विवाद चुलिएको थियो। तर, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले दुबै पद नछाड्ने बताएपछि नेकपामा स्थायी कमिटी बैठकसमेत बस्न् सकेको थिए।
यहीबीचमा पटक पटक भएका भित्री वार्ताहरुमा सहमति बनेपछि दुबे अध्यक्षको सहमतिमा महासचिब विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाइएको थियो। सो कार्यदललाई पार्टीको सचिवालय बैठकबाटसमेत अनुमोदन गरिएको थियो।
कार्यदलमा संयोजक विष्णुप्रसाद पौडेल र सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी छ जनालाई जिम्मेवारी तोकिएको थियो।
प्रधानमन्त्रीको राजीनामा मागेर शुरु भएको विवाद समाधानका लागि कार्यदलले के सुझाव दियो भन्ने विषयमा भने केही खुलाइएको छैन। तर, राजीनामा मागिरहेको समुहले पछिलला दिनहरुमा प्रधानमन्त्री ओलीले दुबै पद छोड्नु नपर्ने अभिव्यक्ति दिएको छ।
Facebook Comment