राजमार्गमा रोकिएका सवारीका साधन काठमाडौँ प्रवेश
धादिङ। पृथ्वी राजमार्गमा गत ३ गते बुधबार रातिदेखि रोकिएका सवारीका साधनहरू राजधानी प्रवेश गरेका छन्। कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएका ४२३ मालवाहक सवारीहरूलाई प्रहरीले शनिबार राति प्रवेश गराएको हो।
गत बुधबार रातिदेखि उपत्यकामा जारी निषेधाज्ञाका कारण काठमाडौँ सीमानादेखि पृथ्वीराजमार्गमा ट्रकको लाइन लागेको थियो। सरकारले खाद्यान्न, तरकारी, दूध र एम्बुलेन्सबाहेकलाई अत्यावश्यक ढुवानी नमानेपछि अन्य सामान बोकेका साधन उपत्यका प्रवेश गर्न पाएका थिएनन् । उपत्यकामा भदौ १० गतेसम्म कडा निषेधाज्ञा लगाइएको छ।
नौबिसे–नागढुङ्गाअन्तर्गत त्रिभुवन राजपथमा ४२३ वटा ट्रक, लहरी र कन्टेनर पार्किङ गरेर बसेका थिए । निषेधाज्ञा जारी गरेको आफूहरूले पत्तै नपाउँदा बाटैमा अलपत्र परेको ट्रक चालक सुशील सुनुवार बताउँछन्।
अत्यावश्यक वस्तुबाहेक निर्माण सामग्री, लत्ताकपडा, सिमेन्ट, मार्बल, पाइपलगायतका ढुवानीका सवारीलाई रोकिएपछि अलपत्र परेका थिए। राजधानी प्रवेश नपाउँदा खान, बस्नलगायत दैनिक जीवनयापनमा कठिनाइ हुन थालेपछि प्रेवशको लागि वातावरण निर्माण गरिएको टाफिक प्रहरी धादिङ प्रमुख नेत्रप्रकाश भट्टले जानकारी दिएको यो समाचार आजको गोरखापत्रले उल्लेख गरेको छ।
Facebook Comment