रुसले विश्वलाई चकित पार्दै दोस्रो कोरोना भ्याक्सिन तयार पार्यो, कुनै साइड इफेक्ट छैन
काठमाडौं। रुसले विश्वलाई चकित पार्दै दोस्रो कोरोना भ्याक्सिन पनि तयार पारेको जानकारी दिएको छ । यसअघि रुसले ११ अगष्टमा एउटा भ्याक्सिनलाई प्रयोगका लागि स्वीकृति पनि दिइसकेको छ । भ्याक्सिनले स्वीकृति पाएको घोषणा गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वकै पहिलो सफल कोरोनाभाइरस भ्याक्सिन तयार गरेको बताएका थिए । अहिले रुसले अर्को कोरोना भ्याक्सिन पनि सफल भएको जानकारी दिएको हो ।
डेलीमेलको रिपोर्टअनुसार रुसले आफ्नो पहिलो भ्याक्सिनका जुन साइड इफेक्ट देखिएका थिए ती साइड इफेक्ट दोस्रो भ्याक्सिनमा नभएको पनि दावी गरेको छ । नयाँ भ्याक्सिन लगाउँदा त्यस्ता कुनै पनि साइड इफेक्ट नहुने रुसको दावी छ । रुसले पहिलो कोरोना भ्याक्सिनको नाम स्पुतनिक भी राखेको थियो । अहिले आएको नयाँ भ्याक्सिनको नाम इपिभ्याककोरोना राखिएको छ । इपिभ्याककोरोनाको विकास साइबेरियाको वर्ल्ड क्लास भाइरोलोजी इन्स्टिच्युट भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीमा गरिएको हो ।
पहिले यो इन्स्टिच्युट अत्यन्तै गुप्त जैविक हतियार अनुसन्धान केन्द्र थियो । रुसी वैज्ञानिकका अनुसार इपिभ्याककोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल सेप्टेम्बरमा पूरा हुनेछ । तर, ट्रायलका क्रममा जुन ५७ स्वयंसेवकहरुलाई भ्याक्सिन लगाइएको थियो उनीहरु कसैले पनि साइड इफेक्टको सामना गर्नु परेन । सबै स्वयंसेवक स्वस्थ छन् र राम्रो महसुस गरिरहेका छन् ।
इपिभ्याककोरोनाको २ डोज दिइनेछ । पहिलो डोजको १४ देखि २१ दिनमा दोस्रो डोज लगाइनेछ । रुसले अक्टोबरसम्म यो भ्याक्सिनले स्वीकृति पाउने अपेक्षा गरेको छ । नोभेम्बरसम्म यसको उत्पादन सुरु गरिने अपेक्षा छ । भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीले कोरोनाभाइरसका १३ सम्भावित भ्याक्सिनमा काम गरेको थियो । प्रयोगशालामा जनावरहरुमा यी भ्याक्सिनको जाँच गरिएको थियो । अहिलेसम्म चीन, अमेरिका र बेलायतको भ्याक्सिन पनि फेज ३ ट्रायलमा पुगेका छन् ।
Facebook Comment