हिरासतमा रहेका शेर्पालाई कोरोना पोजेटिभ, सम्पर्कमा रहेका सुरक्षाकर्मी होम आइसोलेशनमा
काठमाडौं । मनमैजुस्थित लक्ष्मण तामाङको हत्या आरोपमा पक्राउ परेका दोर्जे शेर्पालाई कोरोना संक्रमण देखिएको छ।
हत्याकाण्डका आरोपी शेर्पालाई कोरोना पोजेटिभ देखिएपछि बयान लिने, अदालत लैजान तथा अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई होम आइसोलेसन राखिएको छ। शेर्पाले ३० साउनमा छुरा प्रहार गरी तामाङको हत्या पुष्टि भएपछि उनलाई पक्राउ गर्ने, बयान लिने र सम्पर्कमा रहेका सुरक्षाकर्मी सहित उनलाई पनि आइसोलेसनमा राखिएको हो।
उनको सम्पर्कमा रहेका सुरक्षाकर्मीहरू घरमै आइसोलेसनमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ। प्रहरीले कोभिड १९ को संक्रमण सुरू भएयता हिरासतमा लिने ब्यक्तीको परिक्षण अनिवार्य गरेको छ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले हिरासतमा रहेका शेर्पालाई कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका सुरक्षाकर्मीहरुको पनि कोरोना परीक्षण गरिएको बताए।
शेर्पालाई महानगरीय अपराध महाशाखा र काठमाडौं परिसरको टोलीले घटनाको अर्को दिन पक्राउ गरेको थियो। टोखाको वसन्तटोल स्थित गोर्खाली खाजा घरमा लक्ष्मण तामाङ र दोर्जे शेर्पाको समुहवीच झगडा हुँदा शेर्पाले लक्ष्मण तामाङलाई छुरा प्रहार गरेका थिए। उनको ग्रीनसिटी अस्पतालमा उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो।
Facebook Comment