पाँच युवा जो कोरोना विरुद्धको लडाईँमा अहोरात्र खटिन्छन्

तर्कबहादुर थापा
७ भदौ २०७७ १४:५१

काठमाडौं। कोरोना भाइरसका कारण विश्व त्रसित भएका बेला एउटा टीम भने कोरोनाका विरुद्ध डटेर लडिरहेको छ। ‘हटने हैन डटी लड्ने नेपालीको बानी हुन्छ’ भन्ने गीतका शब्दहरुले सार्थकता पाएको देखिन्छ, जव आरएन–१६ टीमलाई हेरिन्छ।

कोरोना संक्रमित भएका व्यक्तिहरुलाई छि छि र दुरदुरको व्यवहार गरिरहेएको समाज भित्र फूलेका मुनाहरुले मानवीयता देखाइरहेका छन्। समूर्ण टीमका सदस्यहरुको लगाव, जुझारुपन र समाजप्रतिको उत्तरदायित्व हेर्दा लाग्छ मानवता अझै जीवित छ। आरएन–१६ टीमले अहिलेसम्म मानवता मर्न दिएको छैन। र, यो टीमले समाजमा मानवता मर्न दिनु हुँदैन भन्ने सन्देश पनि छोडेको छ।

कोरोना भाइरसबाट नेपालमा पहिलो मृत्युवरण गरेकी महिलाको शव व्यवस्थापन गरेर सामाजिक उत्तरदायित्व बोध गराएको टीमले पछिल्ला दिनमा ‘कोरोना रेस्पोन्सिभ भेइक्लस्’ सन्चालनमा लाएर समाजमा मानवीयता जीवित राख्नु पर्छ भन्ने सन्देश फैलाएको छ।

गत चैत्र ११ गतेदेखि भक्तपुर अस्पतालमा ‘फिवर क्लिनिक’ संचालन गर्दै आएको आरएनए–१६ समूहले भक्तपुर जिल्लालाई केन्द्रमा राखेर दुईवटा सवारी साधनहरुलाई सञ्चालनमा ल्याएको छ। भेहिकल्सले भक्तपुरका कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई आस्पताल वा आइसोलेसन सेन्टरमा पुर्याउने काम गर्दै आएको आरएनए–१६का संयोजक अरुण सौंजुले डिसी नेपाललाई बताए।

‘हामीले निःशुल्क सेवा प्रदान गर्दै आएका छौं’, गर्वका साथ सैंजुले भने, ‘अहिले २ वटा सवारी साधनहरुलाई २४ घण्टा चलाएका छौं। २४ सै घण्टा कोरोना संक्रमण भएको थाहा भएका, शंकास्पद र उपचारपछि घर फर्केका सबैलाई निःशुल्क सेवा प्रदान गर्दै आएका छौं।’

कोरोना रेस्पोन्सिभ भेहिकल्स् संचालनमा ल्याएको करिव १ हप्ता मात्र भएको संयोजक सैंजुले बताए। ‘हामीले गर्ने १६ वटा कामहरु मध्ये हालको अवस्थालाई हेरी कोरोनालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,’सैंजुले भने, ‘हामीले नेपालमा कोरोनाको सुरुवाती देखिनै भक्तपुर अस्पतालमा ‘फिवर क्लिनिक’ संचालन गरेका छौं त्यो पनि निःशुल्क।’

समाजसेवी उपेन्द्र घिमिरे र केपी भनिने कृष्णप्रसाद ताम्राकारले सहयोग गरेका सवारी साधन (बोलेरो र टोयटा हाइलक्स)का कारण आफूहरुलाई काम गर्नमा सहज भएको उनले अनुभव सुनाए।

‘समाजमा उहाँहरु (उपेन्द्र घिमिरे र कृष्णप्रसाद ताम्राकार)जस्ता मान्छे पनि छन् भन्न पाउँदा गर्वले लाग्छ,’सैंजुले भने, ‘नर्स, डाक्टरहरुलाई घरबाट निकाल्ने समाजामा आफूले प्रयोग गर्ने सवारी सवारी साधन दिएर सहयोग गर्नु भएको छ उहाँहरु प्रति र्कितज्ञ छु।’

सवारी साधनलाई आवश्यक पर्ने पेट्रोलियम भक्तपुर अस्पताल र महानगरीय प्रहरी परिसर भक्तपुरले सहयोग गर्दैै आएको पनि सैंजुले सुनाए। आफूहरुले कोरोना संक्रमित हुनेहरुलाई आइशोलेसन सेन्टर, खरिपाटी र अन्य आवश्यक अस्पतालहरुमा पठाउने गरेको उनले सुनाए।

‘मुख्यतः हामीले भक्तपुर, काठमाडौंको कलंकीसम्म र ललितपुरका केही ठाउँमा भएका कोरोना संक्रमितहरुलाई र निको भएकाहरुलाई आवश्यक सहयोग गर्दै आएका छौं।’

नेपाली सेना, नेपाल प्रहरीलगायतका संवैधानिक अंगहरुसँग मिलेर तालिम लिने दिने काम पनि समूहले गरिरहेको पुनम कर्माचार्य बताउँछन्। यही समूहले नेपाली सेनाको सहयोगमा नेपालमा कोरोनाबाट निधन भएकी पहिलो महिलाको शव व्यवस्थापन गरेको थियो। त्यसपछि पनि कोरोना पोजेटिभ देखिएकी गर्भवती महिलाको शव व्यवस्थापन पनि यही समूहले गरेको थियो।

नेपालमा कोरोना संक्रमण आउनु पहिले नै जनचेतना मुलक कार्यक्रम मार्फत सचेत गराएको पुनमको अनुभव छ। उनले सचेतना फैलाउँदा पनि कोरोनाका संक्रमितहरु भेटिन थालेपछि भक्तपुर अस्पतालको समन्वयमा फिवर क्लिनिक सञ्चालन गरेको सुनाइन्।

‘अस्पतालमा आउने सबैलाई निःशुल्क सेवा दिइरहेका छौं’, पुनमले भनिन्, ‘स्वार्थ भनेको त्यही हो हाम्रो समाजमा कोरोनाका कारण समस्यामा परेकाले अरु समस्या भोग्न नपरोस्। बाकीँ केही स्वार्थ छैन।’

उनीहरुकै उमेरका अरुले पब्जी खेलेर समय विताइरहेको यो अवस्थामा राजेश गाइजु, पुनम कर्माचार्य, नुजकिजु र जिया जोशी भने समाजको उत्तरदायित्व कलिलो शिरमाथि बोकेर हिँडिरहेका छन्।

‘शंकास्पद व्यक्तिको स्वाँब संकलन गर्छौं र सम्बन्धित अस्पतालमा पुर्याउँछौं,’ पुनमले भनिन्, ‘आवश्यक्ता अनुसार व्यक्तिलाई पनि सम्बन्धित आइशोलेसन सेन्टर पुर्याउँ छौं। आइसोलेसनमा निको भएकालाई पुनः सम्बन्धित व्यक्तिको घर सम्म पु¥याइ दिने गरेका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *