धानखेतमाथि गृहमन्त्री थापाको कार्यक्रम, तस्वीर भाइरल

डिसी नेपाल
७ भदौ २०७७ १९:१२

काठमाडौं। गएको मंगलबार राती अछामको रामारोशन गाउँपालिकामा कैलाश खोला वस्तीमा पस्दा १७ जना बेपत्ता भए। ती मध्येको आइतबारसम्म ७ जनाको शव भेटिएको छ। १० जना अझै बेपत्ता छन्। रामारोशन गाउँपालिकाले प्राकृति विपत व्यहोर्नुपरेपछि काठमाडौंबाट राहत दिन र अनुगमन गर्न भन्दै गृहमन्त्री रामबहादुर थापासहितको उच्चस्तरी टोली शुक्रबार अछामका लागि उड्यो।

सबैभन्दा धेरै क्षति पुगेको रामारोशन ५ सैनी बजारमा उनीहरुले जानुपर्ने कार्यक्रम थियो। काठमाडौंबाट दुईजना मन्त्री, पूर्व गृहमन्त्री, केही सांसदसहितको टोली हेलिकोप्टरमाफर्त त्यता गएको थियो।

हेलिकाप्टर रामारोशन ५ को घट्टे खेतमा ल्याण्ड गर्यो, त्यहिँ एक औपचारिक कार्यक्रमको पनि आयोजना गरियो। गृहमन्त्री थापासँगै अर्का मन्त्री लेखराज भट्ट, पूर्व गृहमन्त्री भीम रावललगायतका नेताहरु पनि सो कार्यक्रममा सहभागी थिए।

कार्यक्रम आयोजना गरिएको र हेलिकोप्टर ल्याण्ड गरेको स्थान कुनै खाली चौर भने थिए। त्यो थियो धानखेत। एक त बाढीले त्यहाँ धानबालीमा निकै क्षति गरेको थियो, त्यसमाथि राहत दिन गएको मन्त्रीहरुको टोलीले थप धानखेतीमा क्षति पुर्यायो। धानखेतमाथि नै हेलिकोप्टर ल्याण्ड गर्यो र कार्यक्रम पनि धानखेतमाथि नै आयोजना गरियो।

कार्यक्रमपछि सामाजिक सञ्जालमा सो कार्यक्रम स्थलको तस्वीर भाइरल भइरहेको छ। धानखेतमाथि कुर्सी टेबुल राखिएको तस्वीरमा देख्न सकिन्छ। यसरी धानखेती नष्ट गरेर कार्यक्रम आयोजना गरिएको भन्दै गृहमन्त्री थापाको आलोचना भइरहेको छ।

तर, अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्याय भने कार्यक्रमले धानखेतीमा क्षति नभएको बताउँछन्। उनले फोनमा डिसी नेपालसँग भने, ‘बाढीले क्षति गरेको धानमा हेलिकोप्टर ल्याण्ड गरेको हो। कार्यक्रम पनि त्यहिँ भएको हो। हल्ला भएजस्तो धानखेती नष्ट गरिएको होइन।’

https://www.facebook.com/rambahadurthapabaadal/posts/808752042997762

सायद प्रजिअलाई सो कार्यक्रमबारे बचाउ गर्नुपर्ने बाध्यता होला। तर, तस्वीरमा धानखेतमाथि कुर्सी टेबुल राखिएको प्रष्टै देखिएको छ।

यसैबीच सो विपत्मा परि हराइरहेका मध्ये ७ जनाको शव फेला परेको प्रजिअ उापाध्यायले जानकारी दिए। उनले थप एक शव टाढैबाट देखिएको बताए। उनले भने, ‘आज (आइतबार) एक शव टाढैबाट देखिएको भन्ने आएको छ। तर, शव भएको ठाउँसम्म पुग्न सकिएको छैन। आज सशस्त्र प्रहरीले प्रयास गरेको थियो। तर सम्भव भएन, भोली फेरि सो शव संकलन गछौं। तर अहिले हामी ८ शव भेटिएको भन्न सक्ने अवस्थामा छैनौं।’ हराईरहेका हरुको खोजी कार्य जारी रहेको उनले बताए। उनले सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी कार्य जारी राखेको बताए।

उनले सो बाढीपछि जिल्ला सदरमुकाम र रामारोशनको सडक सम्बन्ध बिच्छेद भएको बताए। उनले हवाई मार्गबाट दुई चरणमा राहत वितरण गरिएको जानकारी दिए। शुरुमा ६० घर परिवार विस्थापित भएकोमा हाल सो संख्या बढिरहेको उनले बताए। उनले करिब २ सय परिवार विस्थापित हुने अवस्थामा रहेको आफूले जानकारी पाएको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *