कोरोनाका कारण आयात घटेपछि शोधानान्तर बचतमा

डिसी नेपाल
८ भदौ २०७७ १८:१४

काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) का कारण आयात घटेपछि देशको शोधानान्तर स्थिति बचतमा गएको छ। देशमा भित्रिने भन्दा बाहिरिने रकम कम भएपछि आर्थिक वर्ष २०७६÷७७ को शोधानान्तर २ खर्ब ८२ अर्ब रुपैयाँले बचत भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अघिल्लो आर्थिक वर्षमा शोधानान्तर ६७ अर्ब ४० करोड रुपैयाँले घाटामा थियो।

कोभिडका कारण देशको आर्थिक गतिविधि सुस्ताएपछि आयात निरन्तर घटिरहेको छ। तर, रेमिट्यान्समार्फत हुने आय खासै प्रभावित नभए पनि शोधानान्तर अवस्था बचतमा गएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए।

अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्ष ५९ करोड १० लाखले घाटामा रहेकोमा गत वर्षमा २ अर्ब ३५ करोडले बचतमा रहेको छ।

आर्थिक वर्ष २०७६÷७७ मा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी १४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भई रु.१९ अर्ब ४८ करोड पुगेको छ। अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर १५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १३ अर्ब ६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत आवमा आयात १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब रुपैयाँको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यस्तो आयात १३.९ प्रतिशतले बढेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९.९ प्रतिशत, ११.५ प्रतिशत र ५.३ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ।

आयातमा मुख्य हिस्सा ओगट्ने पेट्रोलियम पदार्थ र यातायातका साधन घटेपछि आयात घटेको हो।

आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु व्यापार घाटा १६.८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा १३.५ प्रतिशतले वृद्धि भएको थियो।

कोभिडको कारण ठूलो अनुपातमा रेमिटेन्स घट्ने अनुमान गरिए पनि गत आवमा ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब रुपैयाँ भित्रिएको छ। अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *