उपत्यकामा कोरोना परीक्षणको दायरा विस्तार गरिने

डिसी नेपाल
८ भदौ २०७७ २१:४५

काठमाडौं। काठमाडौं उपत्यकाका स्थानीय तहमा करीब २८ हजार ५ सय व्यक्तिलाई पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षण गरिने भएको छ। सोमबार काठमाडौंको राष्ट्रिय सभा गृहमा बसेको उपत्यका नगरपालिका फोरमको बैठकले यस्तो निर्णय गरेको हो। अहिलेसम्ममा उपत्यकामा करीब २ हजार ७४६ जना कोरोना भाइरसको संक्रमणबाट बिरामी परेका छन्। उनीहरुको प्रत्यक्ष सम्पर्कमा भएका व्यक्तिमा हुन सक्ने संक्रमण पत्ता लगाएर समुदायमा फैलिन नदिन यसप्रकारको निर्णय गरिएको हो।

‘निषेधाज्ञाको समयमा संक्रमण भएका बिरामी पत्ता लगाउन अनुसन्धान गर्नु, यसको सम्पर्कमा भएका व्यक्तिलाई ट्रेसिङ गर्नु र टेस्टिङ गर्नु पर्छ। अनिमात्र भाइरसको असर कम गर्दै जान सकिन्छ।’, बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै फोरमका अध्यक्ष एवं काठमाडौं महानगरका मेयर बिद्यासुन्दर शाक्यले भने, ‘उपत्यकाभित्रका समस्यालाई छुट््याएर हेर्न मिल्दैन। त्यसैले महामारी नियन्त्रणका लागि एकीकृत कार्यक्रम अन्तर्गत भोलिदेखि सबै नगरपालिकामा एकसाथ काम थाल्छौं।’

यसअघि गरिएका कामको उपलब्धीका बारेमा कुरा गर्दै उनले भने, ‘फोरमले निर्णय गरेर यसअघि कोरोना नियन्त्रण र रोकथामका लागि गठित उच्चस्तरीय समितिमा आवतजावतमा कडाइ, एकीकृत आइसोलेशन र क्वारेन्टीनको व्यवस्थापनलगायत बिषयमा कुरा गरेका थियौं। समितिले हाम्रा मागलाई मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराएको छ। अब हामी आफैंले मागेको कार्यक्रम कार्यान्वयन गर्ने पालो आएको छ। जसलाई आवश्यक छ, उसलाई हामी खोजेर पनि पीसीआर गराउँछौं। जसलाई आवश्यक छैन। उहाँलाई रहर नगर्न आग्रह गर्दछौं।’

बैठकमा फोरमका सचिव एवं मध्यपुरथिमिका मेयर मदनसुन्दर श्रेष्ठले भने, ‘निषेधाज्ञा अवधिमा उपत्यकाकाभित्र कोभिड संक्रमणको सम्पर्कमा भएका करीब २८ हजार ५ सय व्यक्तिको पीसीआर परीक्षण गराउँछौं। काम भएका छन् तर नतिजा देखिएको छैन। यसलाई व्यवस्थित र एकीकृत रुपमा प्रभावकारी बनाउँछौं।’
बैठकले उपत्यकाका स्थानीय तहबाट सञ्चालन हुने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ।

अहिलेसम्म काठमाडौं महानगरपालिकामा १ हजार ६०६ जना र ललितपुर महानगरमा १८५ सक्रिय केस छन्। यसैगरी मध्यपुरथिमिमा १०५, चन्द्रागिरीमा ६२, सूर्यबिनायकमा ७३, कीर्तिपुरमा २६, बुढानिलकण्ठमा १२५, शंखरापुरमा १७, गोदावरीमा ३९, गोकर्णेश्वरमा ४२ जना सक्रिय केस छन्।

बैठकमा महालक्ष्मीमा ८४, कागेश्वरी मनोहरामा ९६, दक्षिणकाली १०, नागार्जुनमा ४०, तारकेश्वरमा ५४, टोखामा १०९, चाँगुनारायणमा २२ स्थानीय र २० जना सुरक्षाकर्मी, भक्तपुरमा ३१ जना भाइरसबाट संक्रमण भएका बिरामी भएको जानकारी गराइयो। बढ्दो संक्रमण र निको हुने बिरामीकाकारण संख्या तलमाथि भइरहन्छ। यसैका आधारमा कन्ट््याक्ट टे«सिङको योजना बनाइएको फोरमका सचिव श्रेष्ठले जानकारी दिए।

बैठकमा भाइरसको संक्रमणले उपत्यकामा पारेको असर र आगामी कार्यक्रमका बारेमा धारणा राख्दै स्वास्थ्य मन्त्रीका जनस्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले, बिरामीसँग समुदायको सम्पर्क टुटाउँदै लानु र भौतिक दुरी कायम गरेर व्यवहार गर्नुले मात्र महामारी नियन्त्रणमा लिन सकिने बताए। यसै गरी स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. महेन्द्रप्रसाद श्रेष्ठले नेपालमा संक्रमणको तथ्याङ्क बिश्लेषण गदै औसतमा नेपालमा १ जना संक्रमितले १३ जनालाई संक्रमण गराएको बताए। महामारी नियन्त्रणमा नआउञ्जेल अन्तरजिल्ला सवारी सञ्चालन गर्न नहुने उनले सुझाव दिए।

शुरुवातमा अन्तरदेशीय र लकडाउनपछि आन्तरिक आवागमनलाई जनस्वास्थ्य सुरक्षा मापदण्डबमोजिम सञ्चालन गर्न नसकिएकोले अहिलेको अवस्था आएको बताउँदै स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा. दिपेन्द्ररवण सिंहले उपत्यकाका स्थानीय तहले कोभिड नियन्त्रणका लागि थालेका काममा पर्याप्त प्राबिधिक सहयोग उपलब्ध गराउने बताए। त्यसै गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले सक्रिय केस पत्ता लगाएर त्यहाँबाट विस्तार हुने क्रम रोक्नमा मिलेर काम गर्नुपर्ने आवश्यकधता औंल्याए। त्यसै गरी इपिडियोमोलोजी तथा महामारी नियन्त्रण शाखा प्रमुख डा. अमृत पोखरेलले कोरोनाबाट सामाजिक रुपमा हिंसा बढ्न थालेकाले यसलाई सामान्य बनाउनतर्फ सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए।

बैठकमा गोदावरी नगर, महालक्ष्मी, कागेश्वरी मनोहराका मेयरहरु गजेन्द्र महर्जन, रामेश्वर श्रेष्ठ, कृष्णहरि थापा र नागार्जुन नगरकी उपमेयर शुशिला अधिकारीले संक्रमितको पहिचान स्पष्ट बनाउने, बिरामीलाई एम्बुलेन्सको सहज उपलब्धता गराउने, सामाजिक समस्या कम गराउने बिधि अपनाउने लगायतका बिषयमा धारणा राखेका थिए।

संक्रमित बिरामी, शंकास्पद र सम्भावित व्यक्तिहरुको पहिचान, बिरामीको सम्पर्कमा आएकाको पहिचान, अवस्थाका बारेमा परामर्श र संक्रमित र समुदायको सम्बन्ध टुटाउनु नै महामारी नियन्त्रणको एक मात्र बिधि भएकोले कन्ट्याक्ट ट्रेसिंगबाट उपलब्धी हासील गर्न सकिने स्वास्थ्य अधिकारीहरुको भनाइ थियो।
ट्रेसिंगकाे काम गर्दा हरेक स्थानीय तहले एक—एक जना सम्पर्क व्यक्तिमार्फत सूचना आदानप्रदान गर्ने, कन्ट्याक्ट ट्रेसिंगमा खटिने स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार अन्य ठाउँमा पनि खटाउन सकिने गरी योजना बनाइएको छ।

अबको कार्यक्रम मन्त्रालय, स्वास्थ्य सेवा बिभाग र स्थानीय तहबीचको समन्वयमा हुने भएकोले बिगतमा देखिएका कमजोरी नदोहोरिने अपेक्षा गरिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *