वैज्ञानिकको डरलाग्दो चेतावनी – ‘अहिले बनिरहेका भ्याक्सिनले पनि संक्रमणबाट जोगाउँदैनन्’

डिसी नेपाल
९ भदौ २०७७ १५:०४

काठमाडौं। कोरोनाभाइरसविरुद्ध अहिले विश्वभरी विकसित भइरहेका भ्याक्सिनहरुले भाइरस संक्रमणविरुद्ध स्थायी सुरक्षा नदिने र भ्याक्सिन लिएकाहरु कोभिड–१९ संक्रमणबाट निको भइसकेपछि पुनः संक्रमित हुन सक्ने खतरा रहेको विज्ञले बताएका छन् । हङकङमा विश्वमै पहिलो पटक पहिले संक्रमित भएर ठिक भइसकेका बिरामी दोस्रोपटक फेरि संक्रमित भएको केसको अध्ययन गरेपछि हङकङका भाइरोलोजिस्टले चीनको सरकारी मिडिया ग्लोबल टाइम्ससँग कुरा गर्दै यस्तो खतरा औंल्याएका हुन् ।

युनिभर्सिटी अफ हङकङको डिपार्टमेन्ट अफ माइक्रोबायोलोजीका अनुसन्धानकर्ताहरुका अनुसार हङकङका यी व्यक्ति दोस्रो पटक पहिलो पटकको भन्दा बिल्कुलै फरक किसिमको भाइरसबाट संक्रमित भएको जेनेटिक सिक्वेन्सिङबाट देखिएको छ । यी व्यक्ति पहिले मार्चमा संक्रमित भएपछि अस्पताल भर्ना भएका थिए र अप्रिल १५ मा निको भएर डिस्चार्ज भएका थिए । निको भइसकेका उनी फेरि यही अगष्टमा लण्डन हुँदै स्पेन गएर हङकङ फर्किएका थिए । हङकङ फर्किएलगत्तै उनी संक्रमित भएको पाइएको हो ।

अनुसन्धानकर्ताका अनुसार ती बिरामी दोस्रो पटक अस्पताल भर्ना भएको केही दिनपछि उनको शरीरमा एन्टिबडीहरु पाइएका छन् तर जतिबेला उनी स्पेनबाट फर्किएर दोस्रोपटक पोजेटिभ देखिएका थिए त्यतिबेला उनको शरीरमा एन्टिबडी थिएनन् । यसले उनी दोस्रो पटक संक्रमित भएको र सम्भवतः अरुलाई पनि संक्रमण सारेको देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यो केसलाई कुनै पनि व्यक्ति एकपटक ठिक भइसकेपछि पुनः दोस्रोपटक संक्रमित भएको पहिलो प्रमाणित केस मानिएको छ ।

युनिभर्सिटी अफ हङकङका बायोमेडिकल प्रोफेसर जिन डोंग्यानले मंगलबार ग्लोबल टाइम्ससँग कुरा गर्दै ती बिरामी पहिलो पटक मार्चमा संक्रमित हुँदाको भाइरस स्ट्रेन वुहानको भाइरससँग मिल्दो भएको र अहिले उनी दोस्रो पटक संक्रमित भएको भाइरस स्ट्रेन युरोपमा देखिएको भाइरससँग मिल्दो भएको जेनेटिक सिक्वेन्सिङबाट देखिएको बताएका छन् । जिनले मार्चमा उनी संक्रमित भएको भाइरस उनको शरीरमा बाँकी रहेको हुन सक्ने सम्भाव्यतालाई पनि खारेज गरे किनकि पहिलेको र अहिलेको भाइरसको जेनेटिक सिक्वेन्सिङ पूरै फरक छ ।

जीनका अनुसार एकपटक संक्रमित भएपछि निको भएको छोटो समयमै शरीरमा बाँकी रहेका भाइरसको कारण पोजेटिभ देखिने बिरामीहरुले अरुलाई संक्रमित गर्न सक्दैनन् तर यी दोस्रोपटक संक्रमित बिरामी ‘साइलेन्ट क्यारिअर’ भए पनि अरु मानिसहरुलाई संक्रमित गर्न सक्छन् । युनिभर्सिटी अफ हङकङका माइक्रोबायोलोजिस्ट युएन क्वोक युंगका अनुसार यी बिरामीको दोस्रो संक्रमण अत्यन्तै न्यून लक्षण वा लक्षणरहित देखिएको भए पनि उनको शरीरमा रहेको भाइरस लोड कुनै तीब्र संक्रमणका जत्तिकै पाइएको छ । जसको अर्थ दोस्रो पटक संक्रमित भएका यी बिरामी पहिलो पटक संक्रमित भएका बिरामीजत्तिकै संक्रामक हुने उनले बताए ।

प्रोफेसर जिनका अनुसार भाइरसबाट संक्रमित भएर निको भएका बिरामीहरुको शरीरमा विकसित भएका एन्टिबडीमा कोभिड–१९ भ्याक्सिनमा भन्दा बढी रक्षात्मक प्रभावकारिता हुन्छ जसले उनीहरुलाई दोस्रो पटक संक्रमित हुनबाट भ्याक्सिनले भन्दा बढी प्रभावकारी रुपमा जोगाउँछ । तर, दोस्रो पटक संक्रमित भएको पछिल्लो केसले कोभिड–१९ भ्याक्सिन समेत बिरामीलाई दोस्रो पटक संक्रमित हुनबाट जोगाउन असफल हुने देखाएको प्रोफेसर जिनले बताए । यो केसले मानिसहरुलाई भ्याक्सिन एकपटक लगाएपछि सबै संक्रमणको समाधान नहुने र ती भ्याक्सिनले मानिसहरुलाई केवल गम्भीर बिरामी पर्नबाट मात्र रोक्न सक्ने कुरा सम्झाएको उनले बताए । उनले वैज्ञानिकहरुले यसको स्थायी समाधानको लागि निरन्तर अनुसन्धान जारी राख्नुपर्ने देखिएको समेत बताए ।

प्रोफेसर जिनका अनुसार विशेषज्ञहरुले यो एक्लो अपवाद केस हो वा यसले एक पटक ठिक भइसकेका अरु धेरै बिरामीहरु दोस्रो पटक संक्रमित हुन सक्छन् वा भइसकेका छन् भन्ने संकेत गरेको हो भन्नेबारे अनुसन्धान गरिरहेका छन् । माइक्रोबायोलोजिस्ट युएनका अनुसार दोस्रो पटक संक्रमणको केसमा कुनै लक्षण छैन । त्यसैले यो केसले यसैगरी दोस्रो पटक संक्रमित भएका अरु बिरामी पनि हुन सक्ने र उनीहरुको परीक्षण नभएको संकेत गरेको बताउँदै युएनले अहिले नै यो एक्लो केस हो वा विश्वव्यापी ट्रेण्ड हो भन्ने निश्चित गर्न नसकिने बताए ।

संक्रमित भएर ठिक भएका र भ्याक्सिन लिएकाहरुले लामो अवधिको प्रतिरक्षा हासिल गर्न सक्छन् कि सक्दैनन् भन्ने थाहा पाउन फलोअप अध्ययनको आवश्यकता रहेको युएनले बताए । यसअघिका अध्ययनहरुले पनि निको भएका बिरामीको शरीरमा विकसित एन्टिबडीे लामो समयसम्म नरहने देखाएका थिए । चेंगकिंग मेडिकल युनिभर्सिटीका विज्ञहरुले गरेको एक अध्ययन जूनमा नेचर जर्नलमा प्रकाशित भएको थियो जसमा लक्षण नदेखिएका बिरामीमध्ये ८१ प्रतिशत र लक्षण देखिएका बिरामीमध्ये ६२ प्रतिशतको शरीरमा निको भएको दुई महिनापछि एन्टिबडीको संख्यामा गिरावट देखिएको थियो ।

फुडान युनिभर्सिटीको शाङघाइ पब्लिक हेल्थ क्लिनकल सेन्टरका उपनिर्देशक लु होंगझोउका अनुसार शाङघाइमा गरिएको एक अध्ययनमा पनि निको भएका अधिकांश बिरामीको शरीरमा डिस्चार्ज भएको तेस्रो हप्तापछि पर्याप्त एन्टिबडीको संख्यामा गिरावट देखिएको र १७५ मध्ये १० बिरामीको शरीरले त एन्टिबडी उत्पादन गर्नै छोडेको पाइएको थियो । हङकङको केसका विषयमा लुले यो केस केवल पोजेटिभ न्यूक्लिक एसिड नतिजा हो वा सााच्चै एक्टिभ भाइरस हो भन्ने बुझ्न थप जानकारी आवश्यक भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *