उपत्यकामा २३२ सहित थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु
काठमाडौं । मंगलबार उपत्यकामा २३२ सहित देशभर ८५५ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ८५५ संक्रमित थपिएको जानकारी दिए।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा १९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ जना गरी काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ३३ हजार ५३३ पुगेको छ।
हालसम्म १९ हजार ११९ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ३१३ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार २५० रहेको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको छ। गत २४ घण्टामा ११ हजार ३२७ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ। यस्तै १० हजार ४५३ जना क्वारेन्टिनमा रहेका छन्।
Facebook Comment