कोरोनाभाइरस भ्याक्सिनः ट्रायलपछि अमेरिकाले दियो खुसीको खबर

डिसी नेपाल
११ भदौ २०७७ ९:३१

काठमाडौं। कोरोनाभाइरसको भ्याक्सिनका विषयमा अमेरिकाले अर्को खुसीको खबर दिएको छ । अमेरिकाको भ्याक्सिन विकासकर्ता कम्पनी मोडर्नाले आफूले विकास गरेको भ्याक्सिन वृद्धहरुमा पनि निकै प्रभावकारी देखिएको बताएको छ । ब्लुमबर्गको रिपोर्टअनुसार सुरुवाती ट्रायलमा यो भ्याक्सिनले पाको उमेरका वृद्धहरुमा पनि ‘इम्युन रेस्पोस्ट’ उत्पन्न गरेको पाइएको हो ।

मोडर्नाले बुधबार दिएको जानकारी अनुसार ५६ देखि ७० वर्षका १० जना र ७० वर्षभन्दा माथिका १० जना गरी कूल २० जना पाको उमेरका स्वयंसेवकहरुलाई ट्रायलमा सहभागी बनाइएको थियो । यी सबै स्वयंसेवकहरुलाई २८ दिनभित्र १०० मिलिग्रामका २ डोज दिइएको थियो । २८ दिनपछि ती स्वयंसेवकहरुको जाँच गर्दा उनीहरुको शरीरमा ‘न्युट्रिलाइजिङ एन्टिबडी’ पाइएको कम्पनीले जनाएको छ ।

कोरोनाभाइरससँग लड्नको लागि यी एन्टिबडी अत्यन्तै आवश्यक रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् । कम्पनीमा अनुसार यी स्वयंसेवकहरुको शरीरमा एन्टिबडीको जुन मात्रा भेटियो त्यो मात्रा कोरोनाभाइरस संक्रमित भएर ठिक भएका बिरामीहरुको शरीरमा पाइएको एन्टिबडीको मात्राभन्दा धेरै थियो । मोडर्नाले भ्याक्सिनको २ डोज लिएका कुनै पनि स्वयंसेवकमा कुनै पनि गम्भीर साइड इफेक्ट समेत नदेखिएको बताएको छ ।

केही बिरामीहरुलाई टाउको दुख्ने र थकानको समस्या भएको भए पनि धेरैजसो साइड इफेक्ट २ दिनभित्र आफैं हराएर गए । अमेरिकामा कैयौं कोरोना भ्याक्सिन विकासको काम भइरहेको छ जसमध्ये मोडर्नाको यो भ्याक्सिनलाई सबैभन्दा बढी आशा गरिएको छ । मोडर्नाको यो भ्याक्सिनको फेज ३ ट्रायल पनि सुरु भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १७० भ्याक्सिन विकासको काम भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *