बिरामी फालाफाल टाठा बाठा मालामाल
झण्डै चार महिना भन्दा लामो समयसम्म कोरोनाको मार खेपेपछि अब चाहिँ कोरोनाले हार खायो होला भनेर खुकुलो पार्दै अन्त्य गरिएको लकडाउनपछि जनजीवन सामान्य भए जस्तो देखिएको थियो। तर, त्यो अवस्था लामो समयसम्म कायम हुन सकेन। पहिले भन्दा पनि जोड जोडले कोरोना संक्रमण बढ्न थाले पछि र हेर्दा हेर्दै धेरैलाई गालेपछि फेरि कडा किसिमको समस्या खडा भयो ।
संक्रमण छिटोछिटो फैलँदै गएको र समस्यामाथि समस्या थप भएको हुँदा उपचार र अरु ब्यबस्था गर्नु भन्दा सजिलो भएर होला फेरि देशैभरि जस्तो निषेधाज्ञा जारी गरेर यसको भारी नियन्त्रणको प्रयास भइरहेको छ। कोरोना अलिअलि देखिएको समयमा दौडादौड गरेर र सुरक्षित ठाउँमा छिटो पुग्न अघि सरेर स्वदेश, बिदेश सबै ठाउँहरुबाट मानिसहरु हिँडे। कोही गाडी, कोही प्लेन आदिमा को को कहाँ कहाँ गए कसैले चासो राख्ने आवश्यकता देखेन।
देशैभरि एकैचोटि लकडाउन भएपछि ठाउँ ठाउँमा ब्यबस्था मिलाउन सक्नेहरु गाडीमा र केही कतै सहारा नभएकाहरु स–साना बाल बच्चा र झिटीगुन्टासहित पैदल गन्तब्यमा लागेको अनि सबैतिर हारगुहार मागेको सबैलाई जानकारी हुँदाहुँदै पनि कतैबाट सहयोग नपाउँदा रिसाएर जागेको भएपनि केही गर्न नसक्ने निरिह जनताले यससँग सम्बन्धितहरु प्रतिमनमा रिसइबी दागेको पनि अहिले बिर्सनु राम्रो हो।
लकडाउनको समयमा पहुँच भएकाहरु गाडीको पास लिएर घुम्न हिँड्ने, रमिता हेर्न हिँड्ने र त्यही पासको प्रयोग गरेर ब्यापारबाट अपार फाइदा लिएको सुन्दर दृश्यहरु पनि देख्न र हेर्न पाइयो। लामो लकडाउनले आर्थिक अबस्थापनि डाउन हुन थालेपछि र कोरोना निकै कम भयो भनेर लकडाउन अन्त्य गरेर आर्थिक कृयाकलाप सुचारु गर्न कदम चालेपछि बिभिन्न ठाउँमा गएका मानिसहरु काममा फर्कन थाले।
को कहाँबाट आयो र कसले कोरोना बोकेर ल्यायो भन्ने केही अत्तोपत्तो भएन अनि यसतर्पm सम्बन्धितहरुको ध्यानपनि गएन। करिब चार महिनाको लकडाउनपछि गरिएको लकडाउनको अन्त्य र अब सबै ठीक हुन्छ भनेर छरिएको हल्ला केही दिनमै सेलायो। अलिअलि ब्यापार सुचारु भएसँगै संक्रमितहरु पनि बढ्न थाले र आइसोलेशन, क्वारेन्टाइन, अस्पताल भर्ना,उपचार आदितर्फ कदम चाले।
स्थिति सोचेभन्दा भयावह हुँदै गएपछि र नियन्त्रण गर्न नसकिने भएपछि लकडाउन भन्दापनि कडा किसिमबाट निषेधाज्ञा सुरु भयो। तोकिएको निषेधाज्ञाको अवधिमा संंक्रमणको दर घट्नुको सट्टा बढ्दै गएकोले यसको म्याद बढ्दै गएको छ। लकडाउन र निषेधाज्ञा ज्यादै सजिला उपायभएका हुनाले सजिलोसँग गएका छन्।
सरकारका लागि यो भन्दा सजिलो अरु उपाय छैन। एउटा निर्णय गरिदियो, सडकमा सुरक्षाकर्मीहरु छरिदियो अनि फलानो मितिको यति बजेबाट लागू हुने भन्ने घोषणा गरेर ढुक्क परिदिया । संक्रमण घटाउने अरु उपायहरुतिर दिमाग लगाउनुभन्दा लकडाउन वा निषेधाज्ञा घोषणा गरेर समय कटाउने तरिका नै उत्तम तरिका भएपछि सबैलाई आनन्द।
कोरोनामा आफ्नो ज्यानको परवाह नगरिकन खटेका र सबैखाले समस्यासँग जुध्न डटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले आफ्नो जिम्मेवारीबाट पछाडि हटेका सबैको इज्जत जोगाइ दिएका छन्। संक्रमित बिरामीहरुको उपचार,अन्यसेवा र सुरक्षामा आफ्नो र आफन्तको कुनै चिन्ता नलिइकन र यो ऊको भावनालाई महत्व नदिइकन चौबिसै घण्टा लागिरहेका अनि के कसरी राम्रो सेवा दिन सकिन्छ भनेर जागिरहेका र यसमा सबैको सहयोग मागिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मेहनतलेनै अहिले सबै जिम्मेवारहरुले फूर्ति देखाउन पाएका हुन्।
संक्रमितहरुको सेवामा दिलो ज्यान दिएर खटिँदै आपूmपनि संक्रमित हुँदै क्वारेन्टाइनमा बस्दै, आइसोलेशनमा बस्दै,उपचार गर्दै ठीक भएर स्वस्थ हुँदै नडराइकन साबिक अनुसार नै बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मीलाई निरुत्साहित र हतोत्साहित हुने अनि देख्ने सुन्नेहरुको पनि मन छुने खालका कृयाकलाप गरेर आपूm सभ्य, शिक्षित, संस्कारी र सहयोगीको परिचय दिन रुचाउने महानुभावले पनि संक्रमणमा रेकर्ड राख्न थाल्नुलाई पनि सबैजनाले तारिफ गरेका छन्।
कोरोनामा आफ्नो ज्यानको परवाह नगरिकन खटेका र सबैखाले समस्यासँग जुध्न डटेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले आप्mनो जिम्मेवारीबाट पछाडि हटेका सबैको इज्जत जोगाइ दिएका छन्।
सुरक्षाका सबै उपाय अबलम्बन गरेर संक्रमितको उपचारमा संलग्न हुँदाहुँदै पनि आपैm संक्रमित भएर सेल्फ आइसोलेशनमा बसेका स्वास्थ्यकर्मीलाई कतै बेइज्जत हुने गरी टोल छिमेक मिलेर घरमा ब्यानर टाँग्न जाने, राजधानीको मुटु र शिक्षित, सुसंस्कृत, सभ्य, सम्पन्न आदि सबै गुणहरुले सम्बोधित बस्तीका टोल सुधार समितिका अध्यक्षलगायतका सभ्य समूहले आइसोलेशनमा बसेको स्वास्थ्यकर्मीलाई त्यहाँबाट लखेट्ने प्रयास स्वरुप गरेको कामअति नै सराहनीय र उदाहरणीय छ।
यो कार्यलाइ देश बिदेश सबैतिरबाट स्याबासीको ओइरो लाग्ला भनेर कसैलाई बाधा नपारिकन अलग्गै बसेको स्वास्थ्यकर्मीको खोइरो खन्ने कार्यलाई सबैले ज्यादै उच्च मूल्यांकन गरिदिन र संसारभरि छरिदिनु पर्छ। उहाँहरुको यस्तो उदाहरणीय कार्यलाई देशका अन्य स्थानका बासिन्दाहरुले पनि तत्कालैबाट अबलम्बन गर्नुपर्छ र टोलमा यसरी नै सुधार ल्याउन सकिन्छ भनेर भावी पुस्तालाई पनि शिक्षा दिन अघि सर्नुपर्छ।
राजधानीकै बासिन्दाबाट यस्ताकार्य हुन थालेपछि र उनीहरुले नै यस्ता कदम चालेपछि यसलाई अन्यत्रकाले पनि बेलैका अनुशरण गर्न ढिला गर्न हुँदैन। कोरोनाबाट संक्रमित बिरामी,उपचाररत बिरामी र निको भइसकेकालाई छिछि र दुरदुर गर्नेलाई पनि कुनै पुरस्कारको ब्यबस्था गर्न सके त्यस्ता ब्यक्तिको पनि मर्यादामा बृद्धि भएर समाजमा अझ प्रतिष्ठित हुनका लागि सहयोग पुग्न सक्ने देखिन्छ। राजधानीको मुटुमै बस्नेबाट यस्ता व्यबहार र क्रियाकलाप भएपछि अन्यत्रकाले पनि सिको गर्दै आफूहरु सभ्य भएको प्रमाण पेश गर्न लामो समय लगाउन हुँदैन।
खरिदकार्यलाई कानुनी रुपमा बचाउने र आम्दानीलाई सबै मिलेर पचाउने कामका लागि आप्mना आसेपासेलाई अनुगमन नियमन सोधपुछ छानबिन र कारबाही गर्ने निकायमा नियुक्ति दिइपालेर राखेको के को लागि हो भन्ने पनिजनताले राम्ररी बुझेका हुनाले ढुक्कसित खाने पिलाउने र सफाइ दिलाउने कार्यमा कतैबाट बाधा छैन।
कोरोना महामारी धेरैलाई अभिशाप भएपनि केहीलाई भने राम्रै फलिफाप पनि भएर आएको र यसबाट मजाले खाएको पनि देखिएको छ। कोरोना अलिअलि सुरु हुनासाथ र यसको रोकथामको तयारीले छुनासाथ यसको नियन्त्रण र रोकथामको जिम्मेवारी पाएका राष्ट्रियस्तरका सरकारी समिति, संयन्त्र, मन्त्रालय, विभाग आदिमा नेतृत्व गर्ने महानुभावहरु आफैं, आफ्ना व्यापारिक साझेदारहरु, आफ्नो छोराहरु, आफूले धेरै अगाडिदेखि प्रयोग गरिरहेका बिचौलियाहरु, आफ्नो इशारामा जायजना जायज सबैखाले काम गर्ने कर्मचारी, आफ्नो खल्तीमा भएका ठेकेदार आदि सबैलाई प्रयोग गरेर र एकदम प्रभावकारी तरिकाले काम भइरहेको भ्रम छरेर राम्रो शुभलाभ गरेकोमा कसैको पनि गुनासो छैन।
यसमा चित्त दुखाउने, गुनासो गर्ने, रिस गर्ने, डाहा गर्ने, छटपटाउने र अरुले खाएकोमा भटभटाउने कसैको पनि केही काम छैन। काग कराउँदै गर्छ पिना सुक्दै गर्छ र कुकुर भुक्दै गर्छ हात्ती हिँड्दै गर्छ भन्ने भनाइले काम गरिरहेको हुन्छ। कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक मास्क, पिपिइ, फेस शिल्ड, थर्मल गन, स्यानिटाइजर, परिक्षण किट र अन्य उपकरण बजार भाउभन्दा ज्यादै बढी दरमा भएपनि ल्याएकोमा सबैले धन्य मानेका छन्।
आपत बिपदको बेलामा अत्यावश्यक सानहरु कहाँबाट आयो, कस्तो आयो, कुन गुणस्तरको आयो, कति आयो, कति पर्यो, कसले ल्यायो,कसरी ल्यायो, कहाँ कहाँ प्रयोग भयो, बजेट कसले निकाशा गर्यो,खर्च कसले गर्यो,फाँटवारी कसले पेश गर्यो भनेर खोज्नेभन्दा सामान आयो राम्रो भयो भन्ने बाटो रोज्नेलाई अशल जनता भनिन्छ र जहाँबाट जसले जसरी जतिखर्च गरेपनि लेखा परिक्षणबाट फछ्र्र्योट भएपछि जायजमा गनिन्छ।
अहिलेसम्म यस्ताखर्च बेरुजु भएको ज्यादै कम सुनिएको हुनाले लेखा परिक्षण गर्ने तलदेखि माथिसम्मका सबै जना सही मान्छेहरु नै चुनिएको प्रमाणित हुन्छ। आपतबिपदमा आवश्यक सामान खरिद गर्दा आफन्त समाउने, सामानभन्दा बढी बिल भर्पाइ बनाएर मजाले कमाउने र हातलागि हुने सबै ठाउँमा पकड जमाउने त पहिले देखिको चलन भएकोले यसमा अभ्यस्त जनतालाई कुनै जलन पनि भएको छैन।
खरिदकार्यलाई कानुनी रुपमा बचाउने र आम्दानीलाई सबै मिलेर पचाउने कामका लागि आप्mना आसेपासेलाई अनुगमन नियमन सोधपुछ छानबिन र कारबाही गर्ने निकायमा नियुक्ति दिइपालेर राखेको के को लागि हो भन्ने पनिजनताले राम्ररी बुझेका हुनाले ढुक्कसित खाने पिलाउने र सफाइ दिलाउने कार्यमा कतैबाट बाधा छैन। यसमा उहाँहरुलाइ बधाइ शुभकामना र धन्यबाद दिनु र उहाँहरुको सद्भाव लिनु नै बुद्धिमानी ठहर्छ।
कसै कसैले यसलाई कालो बजारी भनेर स्वास्थ्यकर्मीलाई होच्याएको पनि देखियो। यसो गर्नु सरासर अन्याय हो। यसलाई काला ेबजारी भन्न र त्यो तहमा गन्न मिल्दैन। पाँच सात हजारमा पाइने औषधीलाई पचास साठी हजारमा उपलब्ध गराउनु भनेको सानो व्यापारिक क्षमता होइन।
माथिल्लो सिंहदरवारमा जिम्मेवारी बोकेर बस्नेहरुले छाती ठोकेर खुल्लम खुल्ला कमाउने र त्यसमा संलग्न सबैजना रमाउने गरेको देखेपछि तलका सिंहदरवारहरुले पनि सोही बाटो समाउने गर्नै पर्यो। प्रदेशका सिंहदरवारदेखि नगर र गाउँसम्मका सबै सिंहदरवारहरुले क्वारेन्टाइन र आइसोलेशनका लागि आवश्यक सामान खरिदको साथै खाना र अन्य व्यवस्थापनमा एकोहोरो बिलबाट प्राप्त बजेट सिध्याउन गाह्रो परेपछि एउटै सामानको दोहोरो बिल भर्पाइ पेश गरेर अति बेश तरिकाले लेखाको दायित्व पूरा गरेको सुन्दा सबै जनताको छाती गर्वले फुलेको र यति योग्य दक्ष अनि जनप्रेमी महानुभावलाई आफैले भोट दिई बिभिन्न तहको सिंहदरवारमा हुलेकोमा सबै हर्षित भएका छन्।
अझ कतिपय अवस्थामा त अन्धाधुन्ध बजेट सक्ने र सबै काम जनताकै लागि गरेको भनेर बक्ने काम माथिल्लो सिंहदरवार भन्दापनि तलका सिंहदरवारहरुले ज्यादै तदारुकता र दक्षताका साथ सम्पन्न गर्दै आएका हुनाले जनताले केही नभए पनि सन्तोष पाएका छन्।
ठूला नेता,ठूला व्यापारी, ठूला नवधनाढ्य आदिको लगानी भएको र सँधै भरि नाफामा गएको भनेर सुनिएका निजी अस्पतालले कोरोनाका बिरामीलाई सरकारी अस्पतालमा मात्रै उपचार गर्नपर्छ भनेर सरकारी अस्पताललाई सहयोग पुर्याएको देखेर पनि जनता दंग छन्। अघिपछि हारालुछ गरेर बिरामी तान्ने र सरकारी अस्पताललाई आप्mनो लागि अबरोध मान्ने अनि भने जति खर्च गर्न सक्ने बिरामीलाई मात्रै आफन्त ठान्ने निजी अस्पतालले कोरोना संक्रमितलाई गरेको सहयोग पनि अनुकरणीय नै छ। सरकारको नीति निर्देशन र नियम कानुनलाई धोती लगाइ दिएर बसी बसी मोती फलाउने क्षमता भएका असपताललाईपनि जनताले यस अवसरमा धन्यबाद दिन चुक्न र अघिपछि बिरामी भएर सरकारी अस्पतालतिर लुक्न हुँदैन।
जसको जति कुरा गरे पनि र योभन्दा ऊ चोखो हुन्छ भनेर जति भ्रम छरेपनि मौका परेको बेलामा चौका नहान्नेलाई कसैले पनि पत्याउँदैन भन्ने कुरा नाम चलेका स्वास्थ्यकर्मीले कोरोना बिरुद्धको औषधि अतिरिक्त शुल्कमा उपलब्ध गराएबाट प्रष्ट हुन्छ। कसै कसैले यसलाई कालो बजारी भनेर स्वास्थ्यकर्मीलाई होच्याएको पनि देखियो। यसो गर्नु सरासर अन्याय हो। यसलाई कालाे बजारी भन्न र त्यो तहमा गन्न मिल्दैन।
पाँच सात हजारमा पाइने औषधीलाई पचास साठी हजारमा उपलब्ध गराउनु भनेको सानो व्यापारिक क्षमता होइन। बिज्ञान पढेका स्वास्थ्यकर्मीले अर्थशास्त्र पढेका दिग्गजहरुलाई माथ गरेकोमा सबैले साथ दिएर सहयोग गर्न पर्नेमा कालो बजारीको दोष लगाएकोमा जनताले रोष प्रकट गर्न थालेका छन्। अहिलेमात्रै होइन जहिले पनि मिल्दो र सकिने ठाउँमा कालोबजारी नभएको र यसरी नै ब्यापार ब्यवशाय अगाडि नगएको कहाँ छ र?
सुरुसुरुमा भएको कडा लकडाउनमा अति आवश्यक काम परेका, चिनाजानीका, बेलामौकामा काम दिँदै आएका, सँगै खानपिन गर्दै आएका, आफन्त, पहुँचवाला आदिका अलावा पनि बिचौलियामार्पmत मनग्गे रकम दिने र सवारी पास लिने काम सबै तिर भयो रे भन्ने सुन्दा जनताले चाहिँ पत्याउने कुरै आएन। आम्दानी हुन्छ भनेर पहिल्यै जानेको कारणले सरुवाको लागि छानेको र सबै हिसाब किताब गरेर अग्रिम भुक्तानीले हान्न पर्ने ठाउँमा चित्त बुझ्दो किसिमले नगदको झटारो हानेको हुनाले सरुवा गर्न मानेको ठाउँको प्रशासक भएर गएपछि लगानी खर्च पूर्ति गर्न र पछि पनि यसरी नै सरुवा मिलाएर फूर्ति गर्न यस्तै अवसरको सदुपयोग नगरे त ठूलो पछुतो हुनसक्छ।
माथि देखि तलसम्म अत्यन्त इमानदार, निष्पक्ष, निष्कलंक, भ्रष्टाचार बिरोधी एकसेएक प्रशासक भएको ठाउँमा यस्तो भयो रे भनेको सुन्दा जनतापनि अचम्ममा परेका र बिरोधीले रिसले आरोप मात्रै लगाएका हुन् भन्ने गरेका छन्।
त्यसै गरेर लकडाउनदेखि आजभोलिसम्म नै सीमा सुरक्षा, निगरानी, अनुगमन आदिको जिम्मेवारी पाएको सुरक्षा निकायको मिलेमतोमा दक्षिणी सिमानाबाट हजारौँको संख्यामा विभिन्न उद्योगमा काम गर्ने बिदेशी कामदार प्रतिब्यक्ति पाँचदेखि दश हजारको दरले सुपथ मूल्यमा सीमापार गरी भित्र आउने व्यबस्था सुचारु रुपमा चलिरहेको र सुरक्षाको जिम्मेवारी लिनेहरुको नगद फलिरहेको छ र यसको हिसाब किताब निकै माथिसम्म पुगेर टुंगिन्छ रे भन्ने हल्ला व्यापक रुपमा सुनिएपनि जनताले चाहिँ पटक्कै विश्वास गरेका छैनन्।
जे होस् लकडाउन, निशेधाज्ञा, आइसोलेशन, क्वारेन्टाइन,उपचार आदिको साथै संक्रमणबाट बच्ने सबै उपायहरु ज्यादै कडाइकासाथ अबलम्बन गर्दागर्दै बिरामी फालाफाल भएपनि यसैबाट टाठाबाठा मालामाल भएकोमा जनता सन्तुष्ट र खुसी छन्।
Facebook Comment