मुलुकभर ७१ पत्रकारमा कोरोना सङ्क्रमण, सबैभन्दा बढी प्रदेश नं २ मा

डिसी नेपाल
१२ भदौ २०७७ १८:५८

काठमाडाैं। नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका ७१ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ। प्रदेश नं १ मा १३ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन्। तीमध्ये मोरङका १२ र उदयपुरका एक जना रहेका छन्।

त्यस्तै प्रदेश नं २ मा २७ जना पत्रकार सङ्क्रमित भएका छन्। तीमध्ये पर्साका १३, बाराका चार, धनुषाका दुई, सप्तरीका तीन, सर्लाहीका तीन, महोत्तरीका एक र रौतहटका एक जना रहेका छन्। वाग्मती प्रदेशमा ११ जना पत्रकार सङ्क्रमित भएका छन्। तीमध्ये काठमाडौँका नौ र ललितपुरका दुई जना रहेका छन्। यसैगरी गण्डकी प्रदेशमा आठजना पत्रकार सङ्क्रमित भएका छन् । तीमध्ये कास्कीका एक र नवलपुरका सात जना रहेका छन्।

प्रदेश नं ५ मा ११ जना पत्रकार सङ्क्रमति भएका छन् । तीमध्ये बाँकेका दुई, बर्दियाका एक, कपिलवस्तुका छ र रुपन्देहीका दुई जना रहेका छन्। त्यस्तै कर्णाली प्रदेशको दैलेखमा एकजना पत्रकार सङ्क्रमित भएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए। उनले सङ्क्रमितमध्ये केही निको भइसकेका छन् भने केही उपचाररत अवस्थामा रहेको जानकारी दिए।

कार्यस्थलमा गई खटिने पत्रकार, फोटो पत्रकार सङ्क्रमणको उच्च जोखिममा रहेका छन्। महासङ्घले सङ्क्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पिसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको सहज व्यवस्था गर्न सरकारसँग माग गरेको उनले बताए ।

महासङ्घले महामारीको विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत अपिल गरेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *