समय नै कहाँ छ र ? (कविता)
अब गहिराइमा
पुग्ने
जाने
बुझ्ने
खोज तलाश गर्ने
समय नै कहाँ छ र
सबैको आ-आफ्नै व्यस्तता छ
सतह सतह यसो
छाम्ने
थाहा पाए जस्तो गर्ने
बुझे जस्तो गर्ने
भेटे जस्तो गर्ने
राम्रो अक्षरमा लेख्थे
अब औँला चलाउछन्
किताब पढ्थे
अब सप्पै ई भएछन्
ति सिलोट र खरी
अझ पाटी र कमेरोको मसी
त
इतिहास भएछन्
सामानसंग साटिने सामान
पैसासंग साटिन थाले
अहिले त
“समय नै पैसा हो” भन्छन्
अनि त
अरूलाई दिन
समय नै कहाँ छ र
समयले मानिसलाई
बाँधेको छ
लादेको छ
लोभ्याएको छ
दलेको छ
संक्षेपमा गुलाम बनाएको छ
त्यसैले समयको संगसंगै दौडिने मानिससंग
समय नै कहाँ छ र
छोराछोरीलाई दिने समय
चाइल्ड केयरसंग
बुढा बुढीलाई दिने समय
सिनियर होमसंग
कति कति घर परिवारलाई दिनुपर्ने समय
ओभर टाइमसंग
अब त
मिलिक्क
झिलिक्क
पिलिक्क
चाहिन्छ सबैथोक
त्यसैले सबैजना
गरेको गरै
दौडेको दौडै
हात, गोडा, कान, आँखा, मुख, दिमाग
चलाको चलाइ
एउटा मेशिन जस्तो
एउटा रोबोट जस्तो
यसो
सुस्ताउने
रमाउने
आनन्द मान्ने
समय नै कहाँ छ र
- अगष्ट २२, २०२०
Facebook Comment