कोरोनामा जडीबुटी र फलफूलको नर्सरी

डिसी नेपाल
१३ भदौ २०७७ ८:५४

गलेश्वर । कोभिड–१९ को सङ्क्रमणका कारण गत चैत ११ देखि लकडाउन गरिएपछि धेरै मानिस घरभित्र निस्क्रिय भएर बसे। तर, म्याग्दीको बेनी नगरपालिका–२ खबराका ६५ वर्षीय यामबहादुर घिमिरे भने लकडाउन शुरु हुने वित्तिकै नयाँ कामको थालनीमा लागे। त्यो काम थियो श्रीखण्ड, बेलपत्र र तुलसीको साथै फलफूल र जडीबुटीको नर्सरी स्थापना।

जिल्ला भूसंरक्षण कार्यालय म्याग्दीमा १९ वर्षसम्म नर्सरी रेखदेखको काम गरेका घिमिरेले गत चैतमा आफ्नै घरको आगनमा श्रीखण्ड, बेलपत्र, तुलसीका साथै टिम्मुर, अरिजाउलो, पखनवेत लगायतका जडिबुटी र सुन्तला, कागती, अम्बालगायत फलफूलका बिरुवा जन्माए। त्यसरी शुरु गरेको नर्सरीमा अहिले बिरुवा हर्लक्कै बढेका छन्।

दुई लाख लगानीमा शुरु गरेको नर्सरी व्यवसायबाट घिमिरेले शुरुआती अवस्थामा नै रु ७० हजार आम्दानी गरिसकेका छन्। जिल्लामा नै पहिलो पटक श्रीखण्ड, बेलपत्र र तुलसीजस्ता बिरुवाको नर्सरी स्थापना गरेका घिमिरेले पैसा कमाउनभन्दा पनि यस्ता औषधीय गुणलेयुक्त अमूल्य जडीबुटीको संरक्षण र प्रचारप्रसारका लागि नर्सरी स्थापना गरेको बताउछन्।

उक्त नर्सरी अहिले धेरैको आकर्षण बनेको छ । कोरोना त्रासमा पनि पोखरा, पर्वत, बागलुङ, बेनीलगायत विभिन्न ठाउँबाट बिरुवाको माग हुन थालेपछि घिमिरे उत्साहित भएका छन्। “यति छिट्टै यसरी माग होला भनेर मैले सोचेको थिइन, घिमिरेले भने, “विशेष गरेर श्रीखण्ड, जडीबुटी र टिम्मुरका बिरुवाको माग बढिरहेको छ ।”

घिमिरेको नर्सरीमा अहिले श्रीखण्डका २००, बेलपत्रका ५०, टिम्मुरका ६०, कागतीका ३५, बिरुवा बाँकी छन् । अरु सबै बिरुवा बिक्री भैसकेको घिमिरेले बताए। घरको आगनमा स्थापना गरिएको नर्सरीले एकातिर आम्दानी दिएको छ भने अर्कोतिर घरको सुन्दरता बढाएको छ । परीक्षणका रुपमा स्थापना गरिएको नर्सरी व्यावसायिक रुपमा नै सफल हुने देखिएपछि घिमिरेले नर्सरीमा बिरुवा वृद्धि गर्ने सोच बनाएको बताए। हुर्केका बिरुवा बिक्री गर्नुका साथै घिमिरेले सार्वजनिकस्थल, सडक र पार्कमा लगाउने गरे।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *