कोरोना संक्रमितको संख्या २ करोड ५० लाख बढी, १९ दिनमा ५० लाख संक्रमित
काठमाडौं। कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या २ करोड ५० लाख ९० हजार ७१८ पुगेको छ। ती मध्ये १ करोड ७४ लाख ३० हजार ३५५ जना उपचारपछि निको भएका छन् भने ८ लाख ४४ हजार ७८४ जनाको मृत्यु भएको छ।
कुल संक्रमित मध्ये ५३ प्रतिशत अर्थात १ करोड ३४ लाख ४२ हजार २६३ संक्रमित अमेरिका (६१ लाख २७ हजार ५३३), ब्राजील (३८ लाख १९ हजार ७७) र भारतमा (३५ लाख ३९ हजार ७१२) छन्।
३१ डिसेम्बरमा पहिलो संक्रमित देखिएपछि संक्रमितको संख्या १ करोड पुग्न १८० दिन लागेको थियो। उता ४३ दिनमा यो संख्या बढेर २ करोड भन्दा बढी भयो। जबकि १९ दिनमा ५० लाख संक्रमित बढेका छन्। सक्रिय संक्रमितको संखया ६८ लाख १५ हजार ५७९ पुगेको छ।
उता स्पेन र फ्रान्समा संक्रमणको दोस्रो लहर सुरु भएको छ। बेलायत, इटली र जर्मनीमा पनि नयाँ संक्रमित थपिएका छन्। यी मुलुकहरुमा संक्रमणको उत्कर्ष पाँच महिना पहिला नै आइसकेको थियो। यी मुलुकमा फेरि संक्रमितको संख्या बढ्न थालेको छ। तर ती मुलुकमा संक्रमितको संख्या बढेपछि मृत्युदर भने कम हुन थालेको छ।
उता बेलायतमा कोरोनासँग सम्बन्धित एउटा सरकारी रिपोर्ट लिक भएको छ। बीबीसीका अनुसार जाडो महिनासम्म बेलायतमा ८५ हजार मानिसको मृत्यु हुन सक्ने रिपोर्ट लिक भएको हो।
नोभेम्बरदेखि मार्चको बीचमा बेलायतमा अन्य प्रतिबन्ध लगाउनु पर्ने हुन सक्ने उक्त रिपोर्टमा उल्लेख छ। बेलायतका स्वास्थ्यमन्त्री म्याट हैंककले शनिबार देशमा कोरोनाको दोस्रो लहर गम्भीर खतरा बन्न पुगेको र यस्ता अवस्थामा पुन लकडाउन आशंकालाई अस्वीकार गर्न नसकिने बताएका थिए।
Facebook Comment