बच्चाको शल्यक्रिया गर्ने रकम नहुँदा परिवार तनावमा

डिसी नेपाल
१४ भदौ २०७७ ९:०४

इलाम । इलाम नगरपालिकाका तीन वर्षीय बालकमा मिर्गौलाको क्यान्सर देखिएपछि उपचारार्थ खर्च जुटाउन समस्या भएको छ। सात महिनादेखि काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ बालकको उपचार खर्च अभाव भएको हो। क्यान्सरको शल्यक्रियापूर्व ‘किमोथेरामी’मा रकम बढी खर्चिनु परेपछि खर्च जुटाउन झनै समस्या परेको हो।

शल्यक्रिया गर्न किमोथेरापी छ पटक गर्नुपर्ने अस्पतालले जनाएको छ। “छ साइकल त किमो नै गर्नुपर्छ । खर्च जुटाउन गाह्रो छ”, बालकका बाबु गोपाल श्रेष्ठले भने। उनका अनुसार एकपटकको किमोथेरापीमै करिब रु ४० हजार खर्च लाग्छ । त्यसपछि शल्यक्रिया गर्नसमेत रु १२ लाख हाराहारीमा रकम लाग्ने अस्पतालले जनाएको छ । “बिरामीको अवस्था किमो गराउँदा ‘नर्मल’ भयो भने मात्र रु ४० हजारले पुग्ने हो”, गोपालले भने, “अरू बिराम देखिँदा त एक किमोमै डेढ लाखसम्म खर्च लाग्छ ।”

अहिलेसम्म उपचारमा रु १० लाख खर्च लागिसकेकाले शल्यक्रियाका लागि रकम जुटाउन अत्यन्त गाह्रो भएको गोपालको भनाइ छ । आर्थिक स्थिति कमजोर भएका उहाँको हालसम्म सहयोगबाटै रकम जुटाएको भए पनि शल्यक्रियाका लागि पर्याप्त छैन । अहिलेसम्म रु तीन लाखभन्दा बढी रकम उठिसकेको छ तर त्यसले शल्यक्रियासम्म नपुग्ने भएकाले उपचार कसरी गर्ने दोधारमा परेको गोपालको भनाइ छ । अहिले गोपाल र श्रीमती नै बच्चाको उपचारका लागि काठमाडौँमै छन्।

परिवारका सबैको सहयोग मिल्दा पनि रकम नजुट्दा छरछिमेकी र आफन्तको सहयोग मागेको उनको भनाइ छ । बच्चा बचाउनका लागि सबै पक्षबाट सहयोग गरिदिनका लागि परिवारले सबैलाई आग्रहसमेत गरेको छ। बालकलाई सहयोगका लागि एनआइसी एशिया बैंकको खाता नं २७८५७५०८८६०९७००१ मा रकम पठाइदिनुहुन आग्रह गरिएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *