कोभिड र लकडाउनले बढायो डिजिटल बैंकिङ

डिसी नेपाल
१४ भदौ २०७७ ११:५५

काठमाडौं । कोभिड–१९ को महामारी र संक्रमण फैलिन नदिन गरिएको लकडाउन, निषेधाज्ञाका कारण विद्युतीय बैंकिङ कारोबारमा उच्च वृद्धि भएको छ ।
बैंकको शाखामा पुगेर कारोबार गर्न असहज अवस्था र नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाले विद्युतीय कारोबारलाई प्रोत्साहन गरेसँगै डिजिटल बैंकिङ कारोबार बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैशाख जेठ र असार महिनामा विद्युतीय कारोबारमा उल्लेख्य बृद्धि भएको छ। २०७६ चैतमा भन्दा २०७७ असारमा विद्युतीय कारोबार ३८.३५ प्रतिशतले बढेको छ।

चैतमा ९ खर्ब १५ अर्ब ७ करोड ६२ लाख रुपैयाँको विद्युतीय कारोबार भएकोमा गत असारमा ३ खर्ब ५० अर्ब ८८ करोड ४४ लाख रुपैयाँले बढेर १२ खर्ब ६५ अर्ब ९६ करोड ६ लाख रुपैयाँ पुगेको छ।

हाल एटिएम, मोवाईल र इन्टरनेट बैंकिङ, डेविड/क्रेडिट कार्ड, आरटिजिएस, कनेक्ट आइपिएस र वालेटलगायतका विद्युतीय भुक्तानी प्रविधि प्रचलनमा रहेका छन् । यी सेवाहरुमा सर्वसाधारणको आकर्षण समेत बढिरहेको छ।

लकडाउनको अवधिमा सवैभन्दा बढी आरटिजिएस (सोही समयमा हुने सेटलमेन्ट) बाट भएको छ । गत असारमा आरटिजिएस मार्फत ११ खर्र्ब ४६ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले २ लाख भन्दा बढीको कारोबार आरटिजिएसबाट गर्नुपर्ने प्रावधानका कारण पनि यो कारोबारमा उल्लेख्य बृद्धि भएको हो । असार मसान्तसम्ममा सरकारलाई तिर्नुपर्ने कर विभिन्न व्यापारी व्यवसायीहरुले आरटिजिएसको माध्यमबाट नै तिरेकोले पनि बृद्धि भएको हो । जेठमा आरटिजिएस मार्फत जम्मा १० खर्ब २५ अर्ब ११ करोड १२ लाख रुपैयाँको कारोबार भएको थियो।

यसैगरी, असारमा एटीएमबाट ६३ लाख २ हजार ८४६ पटक ५ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ झिकिएको छ । त्यस्तै मोवाइल बैकिङ प्रयोग गरी ग्राहकले ५८ लाख १७ हजार ६८१ पटक प्रयोग गरी १ अर्ब ८८ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ।

त्यस्तै, इन्टरनेट प्रयोग गरी १ अर्ब ९० करोड ४८ लाख, डेवीट कार्डबाट २ अर्ब ५८ करोड ९४ लाख, क्रेडिट कार्डबाट ५ करोड ८४ लाख प्रिपेड कार्डबाट ३६ लाख, इसिसि ७ अर्ब ९२ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ।

आइपिएसबाट २२ अर्ब ३६ करोड ५१ लाख, कनेक्ट आइपीएस ५ अर्ब १३ करोड ६ लाख, वालेट मार्फत १ अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बैंक वित्तीय संस्थाका अतिरिक्त भुक्तानी सेवा प्रदायकले पनि वालेट सेवा संचालन गर्दै आएका छन् । पछिल्लो समय मोवाईल रिचार्ज, युटिलिटि बिल पेमेन्टलगायतका सेवामा वालेटको प्रयोग बढ्दै गएको छ ।

कोभिड १९ को संक्रमण फैलिएपछि सरकारले गत चैत ११ गतेदेखि गत असार ७ गतेसम्म देशैभर लकडाउन गरेको थियो । लकडाउन अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले विद्युतिय कारोबार निशुल्क गर्न सकिने व्यवस्था गरेका थिए ।

नेपाल राष्ट्र बैंकले पनि बैंक तथा वित्तिय संस्थालाई विद्युतीय कारोबारमा प्रोत्साहन गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले लकडाउन सुरु भएपछि विद्युतिय कारोबारको सिमा समेत बृद्धि गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *