अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक भन्छन् –‘कोरोना भ्याक्सिन ४२ दिनमा आउँछ’
काठमाडौं। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भ्याक्सिन ४२ दिनमा आउने विकासकर्ता वैज्ञानिकहरुले बताएका छन् । विश्वले प्रभावकारी र सुरक्षित हुने विश्वास गरेको यो भ्याक्सिनको ट्रायल अहिले अन्तिम चरणमा छ । बेलायती अखबार डेली एक्सप्रेसका अनुसार ट्रायल सफल भएको अवस्थामा कोरोनाभाइरसको भ्याक्सिन अबको ६ हप्ता अर्थात ४२ दिनभित्रमा तयार हुनेछ ।
बेलायत सरकार सूत्रले सण्डे एक्सप्रेसलाई बताए अनुसार अक्सफोर्ड विश्वविद्यालय र लण्डनको इम्पेरियल कलेजका वैज्ञानिकहरु भ्याक्सिनलाई पूर्णता दिने चरणको नजिकै पुगिसकेका छन् । बेलायतमा भ्याक्सिनको उत्पादन र यसलाई बजारमा पठाउने काम लगायतका बारेमा पनि पहिलेदेखि नै तयारी चलिरहेको छ । वैज्ञानिकहरुले भ्याक्सिन आम मानिसहरुलाई दिन योग्य भएको घोषणा गर्नासाथ आम मानिसहरुले निकै कम समयमा भ्याक्सिन पाउनेछन् ।
यद्यपि बेलायत सरकारका मन्त्रीहरुले भने अहिलेसम्म पनि खुलेर यस विषयमा पूर्ण जानकारी दिन चाहिरहेका छैनन् । उनीहरुले कुनै प्रतिकूल परिस्थिति आउन सक्ने सम्भावनालाई हेर्दै त्यसको लागि तयारी गरिरहेका छन् । सण्डे एक्सप्रेसको रिपोर्टअनुसार सूत्रले सबैभन्दा राम्रो स्थिति अर्थात ‘बेस्ट केस सिनारियो’मा ६ हप्तामा भ्याक्सिनको सबै जाँच पूरा हुने बताएको छ । यदि यस्तो भएमा यो भ्याक्सिन गेम चेन्जर हुन सक्ने विज्ञहरुले बताएका छन् ।
भ्याक्सिन कार्यक्रमसँग जोडिएका एक अधिकारीले नाम उल्लेख नगर्ने गरी सण्डे एक्सप्रेससँग भने ‘यसमा अझै केही समय लाग्यो भने पनि हामी यति भन्न सक्छौं कि अक्सफोर्ड विश्वविद्यालय र इम्पेरियल कलेजका वैज्ञानिकहरु सफलताको नजिकै पुगेका छन् । यो सफलतापछि लाखौं डोज तयार गर्नुपर्ने आवश्यकता हुनेछ । यसको लागि उत्पादन सुविधा हामीले तयार गरिसकेका छौं ।
बेलायतको भ्याक्सिन टास्क फोर्सकी प्रमुख केट बिंघमले आफूहरु यो भ्याक्सिनका विषयमा सावधान र आशावादी रहेको बताएकी छिन् । उनले भनिन् ‘सबैभन्दा जरुरी यो हो कि हामी काम गर्दै जाउँ र हतारमा खुसियाली मनाउने कोसिस नगरौं ।’ उनले क्रिसमस भन्दा पहिल्यै भ्याक्सिनको ट्रायलको नतिजा आउने विश्वास व्यक्त गरेकी छिन् ।
Facebook Comment