कारागारमा क्षमताभन्दा दोब्बर कैदी, कोरोना संक्रमणको उच्च जोखिम

डिसी नेपाल
१६ भदौ २०७७ २२:०७

काठमाडौं। देशभरका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दीहरु रहेका कारण कोरोनाको संक्रमण जोखिम बढ्दै गएको छ। स्थान अभावका कारण एक हजार चार सय कैदी राख्न सकिने क्षमता रहेको केन्द्रीय कारागारमा हाल तीन हजार दुई सय ७१ जना कैदी छन् भने डिल्लीबजार कारागारको क्षमता करिब ८ सयको भए पनि त्यहाँ १ हजार पाँचस भन्दा बढी कैदी बन्दी रहेका छन्। देशभरका कारागारको क्षमता करिब ११ हजारको रहेको छ, तर देशभर कैदी बन्दी संख्या करिब २० हजार भन्दा बढी रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

कारागारमा रहेका कैदी बन्दीहरुमा संक्रमणको जोखिम बढ्दै गएपछि उनीहरुलाई बेग्ला बेग्लै राख्ने स्थान समेत अभाव भएको छ। केन्द्रीय कारागारमा रहेका कैदी बन्दीको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ। पर्सा, बाँके, सुनसरी (झुम्क)०, सिरहा र सिन्धुपाल्चोक कारागारमा सजाय भुक्तानरत कैदी तथा थुनुवा, कर्मचारी र सुरक्षाकर्मी गरी करिब २ सय जनामा कोरोना संक्रमण देखिइसकेको छ।

तर संक्रमण रोकथाम तथा न्यूनीकरण गर्ने र कैदीको चाप कम गर्ने रणनीतिका बारेमा गृहमन्त्रालय समेत अन्यौलमा रहेको छ। कारागार ऐनमा भएको व्यवस्थाका कारण सबै कैदीलाई छाड्ने वा कैद मिनाह गर्ने अवस्था नभएका कारण मन्त्रालय यो विषयमा अन्यौलमा रहेको हो। कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यसअघि सरकारले एक वर्षभन्दा कम सजाय भएका ६ सय ८० जना कैदीलाई थुना मुक्त गरेको थियो। तर त्यो संख्या कारागारमा कैदी घटाउने सख्या प्रयाप्त होइन।

कारागार स्रोतका अनुसार कम्तीमा अहिले भएका सबै कारागारबाट आधा संख्याका कैदीहरु थुनामुक्त गर्नुपर्ने हुन्छ।

विभागका महानिर्देशक द्रोण पोखरेलले कारागारमा जोखिम रहेको स्वीकारेका छन्। उनले जोखिम र आवश्यकताका आधारमा कोरोना परीक्षण भइरहेको दावी गरेका छन्। ‘कारागार भनेको यसै पनि सबैको पहुँचभन्दा टाढै रहन्छ, एक किसिमको अटो आइसोलेसन नै हो,’ उनले भने।

बाहिरी भीडभाडबाट टाढा रहने भएका कारण कम जोखिम रहेको भनिएपनि अहिले भने जोखिम बढ्दै गएको उनको भनाई छ।

यस्तै केन्द्रीय कारागारमा १६ जना संक्रमित भएका छन्। कारागारमा संक्रमति बढेपछि कारागार व्यवस्थापन विभागले उच्च सावधानी अपनाउन निर्देशन दिएको जनाएको। विभागका प्रमुख पोखरेलले कारागारभित्र संयमित र होसियार हुनुपर्ने बताए। ‘कारागारमा भयानक हुन सक्ने डर छ, त्यसकारण समयमै सचेत हुनुपर्छ, यसबारे हामीले आवश्यक सावधानी अपनाउन सहयोग गर्छौं,’ उनले भने।

उनका अनुसार यसबाहेक बाँके जिल्ला कारागारमा आठजना संक्रमित भएका छन्। त्यस्तै, सिरहा कारागारमा सात र सुनसरी कारागारमा आठजना संक्रमित भएका छन्। राज्य व्यवस्था समितिको भर्चुअल बैठकले सुरक्षा निकाय र कारागार क्षेत्रमा संक्रमण बढेपछि गृह मन्त्रालयलाई नौबुँदे निर्देशन दिएको छ।

कारागारको सुरक्षा खटिने प्रहरीको स्वास्थ्य सुरक्षा र उनीहरूको पिसिआर परीक्षण, सुुरक्षा र कोरोना रोकथाममा नयाँ रणनीति बनाई प्रभावकारी कार्यान्वयन गर्ने, निजी अस्पतालले पिसिआर गर्दा मनपरी शुल्क लिइएको पाइएकाले अनुगमन गर्न गृहमन्त्रीलाई निर्देशन दिइएको हो।

त्यस बैठकमा गृहमन्त्री रामबहादुर थापाले बोल्ने क्रममा कारागारभित्रै पनि महामारी फैलिएकाले गृहमन्त्रीले सचेत रहन पनि आग्रह गरेका थिए।

विभाग अन्तर्गत हाल ७२ जिल्लामा ७४ वटा कारागारहरू सञ्चालन भइरहेका छन्। कारागार व्यवस्थापन विभागको समन्वयात्मक भूमिकमा र प्रमुख जिल्ला अधिकारीको प्रत्यक्ष रेखदेख एवं नियन्त्रण र जेलरको प्रत्यक्ष जिम्मेवारीमा कारागारहरूलाई व्यवस्थित गर्ने काम हुन्छ।

कारागारमा आन्तरिक प्रशासन बन्दीहरू मध्येबाटै नियुक्त गरिएका चौकिदार, नाइके, सहनाइकेको रेखदेखमा सञ्चालित छ भने सुरक्षा व्यवस्था नेपाल प्रहरी र संवेदनशील कारागारहरूमा सशस्त्र प्रहरी बलको टुकडी खएिका हुन्छन्। कारागारहरूको संगठन संरचनाभित्र हाल विभिन्न श्रेणी र पदका कुल ६८८ कर्मचारीहरू कार्यरत रहेका छन्।

त्यस्तै कारागारहरूमा बन्दी राख्ने क्षमता बारे अहिलेसम्म आधुनिक मापदण्ड तयार भएको छै । हालकै अवस्थामा १० हजार कैदी बन्दीहरू राख्न सक्ने क्षमता कारागारहरूमा रहेको देखिन्छ। नेपालभरका ७५ जिल्लाहरू मध्ये धनुषा, भक्तपुर र बारामा कारागारहरू छैनन्, कास्कीको साराङकोट, मोरङको विराटनगर र भक्तपुरमा बाल सुधार गृह सञ्चालनमा रहेका छन् भने काठमाडौं र दाङ जिल्लामा २ र २ वटा कारागार कार्यालयहरू सञ्चालनमा रहेका छन्।

पूर्वाञ्चलमा सुनसरीको झुम्कामा क्षेत्रीय स्तरको कारागार निर्माण भै सञ्चालन भएको छ भने मध्यमाञ्चलमा मकवानपुरको भिमफेदीमा र दाङको तुल्सीपूरमा नयाँ भवन निर्मार्ण सम्पन्न भै सञ्चालनमा आइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *