बामदेव र नारायणकाजी कसरी होलान् मन्त्री ?
काठमाडौं। नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भइ मन्त्री हुने र र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि मन्त्री बन्ने चर्चासँगै यी दुईका पक्ष र प्रतिपक्षमा योग्यताको कानुनी वहश सुरु भएको छ।
के भन्छ नेपालको संविधानले ?
संविधानको धारा ७८ को उपधारा ४ मा भनिएको छ– ‘उपधारा ९१० मा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदका लागि योग्य हुनेछैन।’
एकथरीले जनताबाट अस्वीकृत भएर आएका नेतालाई फेरि राष्ट्रियसभामा मनोनित गर्ने निर्णय जनभावना विपरित भएको बताएका छन् भने अर्का थरीले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई राष्ट्रियसभामा लैजान संविधानले नरोक्ने बताएका छन्।
धारा ७६ को उपधारा ९ पनि हेर्नुस्
नेपाल बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्काले नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई सचिवालयमा लैजान गरेको निर्णय नै गैरकानुनी भएको बताए। ‘बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय पार्टीले गर्ने होइन, सरकारले गर्ने हो,’ खड्काले डिसी नेपालसँग भने, ‘जनताबाट अस्वीकृति भएर आएका व्यक्तिलाई फेरि संसदमा पठाउने कुरा आफैंमा विवादस्पद हो, त्यसमा पनि उक्त निर्णय पार्टीले गर्ने होइन। सरकारले गर्ने हो।’
यद्यपी राष्ट्रियसभामा नियुक्त भइसकेपछि मन्त्री बन्न संधिवानले नछेक्ने उनको भनाइ थियो। उनले मन्त्री भनेको जनताको प्रतिनिधि हुने उल्लेख गर्दै जनताबाट अस्वीकृति भएका व्यक्तिलाई मन्त्री बनाउनु जनभावना विपरित हुने उनको भनाइ छ।
नेपाल बारमा पूर्व उपाध्यक्ष एवं कानुनविद टिकाराम भट्टराई भने प्रतिनिधिसभा निर्वाचनमा पराजित व्यक्ति राष्ट्रियसभामा मनोनित भएपछि मन्त्री बन्न संविधान र कानुनले नछोक्ने बताउँछन्।
‘प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई राष्ट्रियसभामा मनोनित गर्न संविधान र कानुनले छेक्दैन,’ भट्टराईले डिसी नेपालसँग भने, ‘ जनमतले मलाइ अस्वीकार गर्यो, म यो कार्यकालमा मन्त्री हुन्न भन्ने कुरा उहाँहरुको निजी कुरा भयो। निजी कुरामा टिप्पणी गर्न मिलेन। यसमा कानुन र संविधान बाधक छैन। जनमतबाट पराजित भएको म एक कार्यकाल चाँही मन्त्री खान्न भन्नु भयो भने त्यो उहाँहरुको महानता हुन्छ।’
नेकपा उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ दुवै जना २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्ति हुन्। गौतम बर्दियाबाट कांग्रेस उम्मेद्वार संजय गौतमसँग र श्रेष्ठ तत्कालीन नयाँ शक्तिका उम्मेद्वार डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए।
Facebook Comment