हप्तामा दुई दिन न्यायिक इजलास हुने

डिसी नेपाल
१९ भदौ २०७७ १५:३३

कास्की । पोखरा महानगरपालिकाको न्यायिक इजलास हप्तामा दुई दिन सञ्चालन हुने भएको छ । यसअघि हप्तामा एक दिन मात्रै सञ्चालन हुँदै आएको इजलास अव हरेक सोमबार र बधुबार गरी दुई दिन सञ्चालन गर्ने गरेको न्यायिक समितिका सदस्य किशोर बरालले जानकारी दिए।

“कोभिड–१९ का कारण सातामा एक दिन गर्दै आएकामा पछिल्लो समय उजुरीको सङ्ख्या बढ्न थालेपछि दुई दिन इजलास सञ्चालन गर्ने बैठकबाट निर्णय भएको छ”, बरालले भने । उनका अनुसार हप्तामा एक दिन सञ्चालन गर्दा धेरै भीड हुने भएकाले त्यसलाई कम गराउने उद्देश्यले सोमबार र बुधबार इजलास बस्ने निर्णय गरिएको हो।

न्यायिक समितिले सरकारले घोषणा गरेको लकडाउनमा नागरिक न्यायबाट बञ्चित हुने अवस्था नहोस् भनेर अनलाइन उजुरी लिने व्यवस्था गरेको थियो । चैत ११ को बन्दाबन्दीयता तीन अनलाइनसहित २४ उजुरी दर्ता भएका छन् । त्यसमा तीन फैसला र एक मेलमिलाप भएको छ । बाँकी २० उजुरी टुङ्ग्याउने प्रक्रियामा रहेको बरालले जानकारी दिनुभयो । उजुरी परेको दुईदेखि तीन महिनामा टुग्याउनु पर्ने नियम रहेको छ ।

पोखरामा न्यायिक इजलास २०७५ मंसिरबाट सञ्चालनमा आएको हो । विवादका पक्षहरुले आफैँले निर्वाचित जनप्रतिनिधिसँग खुलेर राख्न पाउने, आर्थिक बोझ नहुने र विवाद समाधान गर्दा मेलमिलापलाई प्राथमिकता दिइने भएकाले न्यायिक समितिमा उजुरी गर्नेहरुको सङ्ख्या बढदै गएको छ ।

स्थानीय तहको विवाद स्थानीयस्तरमै समाधान गर्ने उद्देश्यले नेपालको संविधानमा न्यायिक समितिको व्यवस्था गरिएको छ । न्यायिक समितिलाई १३ वटा विवादको फैसला र ११ वटाको मेलमिलाप गराउन सक्ने व्यवस्था संविधानले गरेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *