अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

डिसी नेपाल
१९ भदौ २०७७ १८:०४

काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार अपराह्न राजीनामा दिएको बालुवाटार स्राेतले जनाएकाे छ।

डा खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका हुन्। सांसद नभएको व्यक्ति मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री ओलीले उनलाई गएको फागुन २० मा दोस्रो पटक मन्त्री नियुक्त गरेका थिए। तत्कालीन सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस मागेको अडियिो टेप बाहिरिएपछि उनले पदबाट राजीनामा दिएपछि खतिवडाले सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए।

सांसद नभएको व्यक्ति मन्त्री नियुक्त भएको ६ महिना भित्र सांसद नभए मन्त्री पद स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था भएका कारण डा. खतिवडाको पद शनिबार निष्क्रिय हुँदै थियो। यसरी पद समाप्ता हुनु अघि नै उनले प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन्।

राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएका खतिवडाको कार्यकाल चिठ्ठा तानेपछि २ वर्षका तय भएको थियो। सो दुई वर्षको पदावधि गएको फागुन २० मा सकिएको थियो। तर, उनी दोस्रो पटक सांसद मनोनित हुन सकेनन्। तर दोस्रो पटक मन्त्रीको शपथ लिए।

प्रधानमन्त्री ओली उनलाई फेरि राष्ट्रिय सभामा पठाउन इच्छुक भए पनि नेकपा सचिवलाय बैठकले शुक्रबार पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेपछि खतिवडाले राजीनामा दिनुपरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *