भक्तपुरमा सेनाले एकै दिनमा बनायो २२५ शैय्याको आइसोलेशन वार्ड
भक्तपुर। नेपाली सेनाको वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ शैय्याको आइसोलेशन वार्ड तयार पारेको छ । कोभिड–१९ को महामारी बढ्दै गएपछि अग्रभागमा रहेर काम गर्ने सेना र तिनका आश्रित परिवारमा कोरोना सङ्क्रमण भए उपचारका लागि राख्न आइसोलेशन वार्ड तयार पारेको हो ।
नेपाली सेनाको उपत्यका पृतनाअन्तर्गत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्लकमा १५० र गणमा ७५ शैय्या गरी कुल २२५ श्ययाको आइसोलेशन वार्ड तयार पारेको हो । गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले महाविद्यालयको भवनको २५ कोठामा प्रति कोठा छदेखि १०सम्म बेड रहेको १५० शैय्याको आइसोलेशन वार्ड एकदिनमा तयार पारेको बताए।
यहाँ मंगलबारदेखि नै सङ्क्रमित सैनिकलाई राखेर उपचार शुरु गरिने भएको छ भने सूर्यविनायकस्थित वीरदल गणमा तयार पारेको ७५ शैय्या क्षमताको आइसोलेशन भने सोमबार नै सङ्क्रमित सैनिकले भरिएको उनले जानकारी दिए।
आइसोलेशनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतनाअन्तर्गतको वीरदल गणले गर्ने भएको छ । चिकित्सकीय सहितको स्वास्थ्यकर्मीको टोली, फोहोर व्यवस्थापन, खानपिनमा भने नेपाली सेनाको विरेन्द्र अस्पताल छाउनीले व्यवस्थापन गर्ने भएको छ । सैनिकका दुईवटै आइसोलेशनमा चिकित्सक पाँच÷पाँच जनाको स्वास्थ्य टोली परिचालन भएको छ ।
कोरोना सङ्क्रमण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेशन अभाव हुँदै गएपछि नेपाली सेनाले सैनिकका लागि छुट्टै तयार पारेको हो । प्रमुख सेनानी पौडेलले भने, “उपत्यकामा आइसोलेशनको अभाव हुदै गएको छ, यो अवस्थामा सङ्क्रमित सेना र आश्रित परिवारलाई छुट्टै व्यवस्था गर्न सके उनीहरुले ओगटेको आइसोलेशन सर्वसाधारणका लागि प्रयोग गर्न थप सहयोग हुन्छ भनेर यो तयार भएको हो ।”
यसअघि पनि चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका विद्यार्थी राख्न खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा २०० जना क्षमताको क्वारेन्टिनलाई २०८ श्ययाको आइसोलेशन, सानोठिमीको प्राविधिक प्रशिक्षण केन्द्र र युसेप तथा बोडेको कृषि विकास बैंकको भवनमा आइसोलेशनको व्यवस्थापन पनि वीरदल गणले नै गरेको थियो । रासस
Facebook Comment