रोहिंज्या शरणार्थीको आधा वर्ष समुद्रमा यात्रा
काठमाडौं। करीव ३०० रोहिंज्या आप्रवासीहरू सात महिनासम्म समुन्द्र र तटीय क्षेत्र हुँदै सोमबार इन्डोनेसिया पुगेका विवरणहरूले उनीहरूको कष्टकर यात्रालाई बताउने संयुक्त राष्ट्र सङ्घीय शरणार्थी नियोग (यूएन्एचसीआर) ले जनाएको छ ।
एक दर्जन भन्दा बढी बालबालिकासहित ती आप्रवासीलाई काठको डुङ्गाहरूमा यात्रा गर्दै गर्दा इन्डोनेसियाको सुमात्राको उत्तरी तटमा लोक्सेउमावे शहर नजिकै अवतरण गर्न स्थानीयले सहयोग गरेका राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन् ।
म्यानमारका मुसलमान अल्पसङ्ख्यक रोहिंज्या समुदायले विगत केही वर्षदेखि यस्तै कठिन यात्रा गर्दै इन्डोनेसिया, फिलिपिन्ससम्म पुग्ने गरेका घटना नयाँ भने होइनन् । यस्तै कठिन यात्रा गर्दै रोहिंज्या शरणार्थी खासगरी एसियाका दर्जनौँ देशमा पुगी सस्तो श्रम बेचेर वा शरणार्थीका रूपमा जीवन विताइरहेका छन् ।
उक्त समूहमा यात्राका क्रममा कम्तीमा ३० जनाको त मृत्यु भएको राष्ट्रसंघीय निकायले जनाएको छ । उनीहरू बाँच्नकै लागि सरल उपायको खोजीमा बङ्गलादेशको कोक्स बजारबाट गत फेब्रुअरीमा यात्रा तय गरेको बताइएको छ ।
यूएन्एचसीआरले भनेको छ,“उनीहरू बाँचेका त छन् । तर समुद्रको कठिन यात्राका कारण कतिपय दिन भोकै यात्रा गरेको बताउने उनीहरू करिब सात महिनासम्म असामान्य कष्ट व्यहोरेका छन् । उनीहरूमध्ये करिब ३० जनाले आफ्नो ज्यान गुमाएका बताउने गरेका छन् भने कैयौँलाई स्वास्थ्य सेवाको जरूरी देखिएको छ ।”
म्यानमारमा अल्पसङ्ख्यक रोहिंज्या शरणार्थी र सरकारी सेनाबीच तीन वर्ष पहिले भएको द्वन्द्वपछि करिब दश लाख रोहिंज्या शरणार्थी रखाइन राज्यबाट भागेर छिमेकी मुलुक बङ्गलादेश पुगी विभिन्न शरणार्थी क्याम्पमा भिडभाडमा बस्ने गरेका छन् । विश्व कोरोना भाइरसको महामारीबीच जुधिरहँदा उनीहरूलाई भने रोगको भन्दा बढी चिन्ता भोकको हुने गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी समूहहरूले बताउने गरेका छन् ।
मानव तस्करहरूले दयनीय अवस्थामा जीवन गुजार्न बाध्य यिनै आप्रबासी, शरणार्थीहरूलाई प्रलोभनमा पारी विश्वका विभिन्न मुलुक पुर्याउने गरेको राष्ट्रसंघीय उक्त निकाय, यूएन्एचसीआर,ले बताएको छ ।
बङ्गलादेशपछि मुसलमान अल्पसङ्ख्यक उक्त जातीले आफ्नो रोजाइको गन्तव्य मलेसिया तथा इन्डोनेसिया बनाउने गरेका छन् ।
दजैनौँलाई बन्धक बनाइएको हुनसक्ने आशङ्का
रोहिंज्या सङ्कटबारे काम गरिरहेको गैरसरकारी संस्था, अराकान प्रोजेक्टका निर्देशक क्रिस लेवाले भने कैयौैँ आप्रवासीहरू समुद्रमा पक्राउ परेका हुनसक्ने आशङ्का गरेका छन्। उनीहरूको परिवारबाट मानव तस्करहरूले धेरै पैसाका लागि मोलतोल गरी हराएका भनिएका उनीहरूलाई अपहरण गरिएको हुनसक्ने उनले बताए।
“यी व्यक्तिलाई वास्तवमा बन्धक बनाइएको हुनसक्छ,” उनले भने, ‘हामीलाई पूर्ण कथा अहिलेसम्म थाहा छैन तर तस्करहरूले उनीहरूले भुक्तान नगरुञ्जेलसम्म उनीहरूलाई फिर्ता गर्ने छैनन् ।”
सुमात्रा नजिकै पुगेका कूल २९७ रोहिंज्याको समूहमध्ये १०२ पुरूष र १८१ महिला युवक तथा वृद्धको नेतृत्व गरेका एक अधवैँसैलाई स्वास्थ्यमा समस्या आएपछि स्थानीय अस्पतालमा भर्ना गरिएको इन्डोनेसियाको लोकसेउमावे क्षेत्रका सैनिक प्रमुख रोनी महेन्द्रले बताए। ।
लोकसेउमावेमा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् सार्वजनिक तस्वीरहरूमा यात्रामा थाकेको तथा खाना तथा आवश्यक पोष्टिक कुराको अभावमा उनीहरूलाई भवनमा सानुपूर्व लत्रिएर भुईमा यत्रतत्र लडेका देखिएको छ । उनीहरूको अवस्था देखेपछि थानीयले केही खाना र कपडाहरू सहयोग गरेका थिए ।
“हामी तिनीहरूको अवस्थाको बारेमा चिन्तित बन्यौँ अनि जेसक्छौ सहयोग ग¥यौँ,” लोक्सउेमावेका स्थानीय आइस्याहले भने, “उनीहरूलाई मानवताको नाममा मद्दत चाहिन्छ । तिनीहरू हामीजस्ता मानिस हुन् ।”
यसैबीच एम्नेस्टी इन्टरनेसनलले इन्डोनेसियालाई आप्रवासीहरुलाई सुरक्षित घर दिन आग्रह गरेको छ । “रोहिंग्या शरणार्थीहरू अझै पनि सुरक्षाको खोजीमा सबै जोखिम लिन चाहन्छन्,“ एम्नेस्टी इन्डोनेसियाका कार्यकारी निर्देशक उस्मान हमिदले भने,, “उनीहरूका साक्षीहरूले फेरि यी डु दयबत्गाका यात्राहरू कत्ति खतरनाक हुन सक्छन् भनेर देखाउँछन्।”
लामो समयदेखि सताइएका रोहिंज्यालाई म्यानमारमा अवैध आप्रवासीको रूपमा लिइन्छ । उनीहरूलाई नागरिकता दिन अस्वीकार गरिएको छ र स्वतन्त्र रूपमा कुनै देशमा यात्रा गर्न असक्षम छन् ।
सन् २०१७ मा गरिएको सैन्य कारबाहीपछि झन्डै सात लाख ५० हजार रोहिंज्यालाई द्वन्द्वग्रस्त राखाइन राज्यबाट बंगलादेशमा भाग्न बाध्य पारिएको आरोपमा अहिले म्यानमारले संयुक्त राष्ट्रको उच्च अदालतमा नरसंहार आरोपको सामना गरिरहेको छ ।
‘खतरनाक परीक्षा’
जुनमा सोही क्षेत्रमा पुगेका महिला र केटाकेटीहरूसहित करिब १०० रोहिंज्या पनि सोमबार इन्डोनेसिया अवतरण गरेको समूहसँगै बङ्गलादेशबाट गत फेब्रअरीमा छुटेका बताइएको छ ।
उनीहरूका अनुसार चार महिनाको कठोर यात्रामा तस्करहरूले अत्यधिक पैसा माग्दै पिटेको र बाँच्नको लागि आफ्नै पिसाव पिउन बाध्य परेको कठोर सङ्घर्ष सुनाएका छन् ।
किनारमा आइपुगेका दुबै समूह बङ्गलादेशबाट करिब ८०० को सङ्ख्यामा छुटेका आप्रबासीको हिस्सा हुनसक्ने अराकन प्रोजेक्टका निर्देशक लेवाले बताए। “ठूलो प्रश्न यो हो कि ती सबै अहिले किनारमा आइुके वा अझै समुद्रमा छन् ।”
उनले सन् २०१५ पछि सोमबार इन्डोनेसिया अवतरण गर्ने समूह सबैभन्दा ठूलोसमूह भएको बताए।
कोरोनाभाइरस महामारीको जोखिमका कारण सयौं रोहिंज्यालाई मलेसियाली र थाई अधिकारीहरूले देश प्रबेशमा रोक लगाएको लेवाले बताए।
उनीहरूको खतरनाक परीक्षालाई तीराज्यले प्रवेशमा देखाएको सामूहिक अनिच्छाले उनीहरूको यात्रा छ महिनाभन्दा बढी लम्बिएको यूएनएचसीआरको बुझाइ छ ।
यूएनएचसीआर र अन्य अन्तर्राष्ट्रिय आप्रबासीसम्बन्धी कामगर्ने संस्थाले बारम्बार यो चेतावनी दिएका छन् कि यदि समुद्री शरणार्थीहरूलाई सुरक्षित र सहज ढङ्गले अवतरणका लागि अनुमति दिइएन भने यसले नराम्रो मानवीय दुर्घटना निम्त्याउने चेतावनी दिने गरेका थिए ।
उनीहरूले भने, “दुभाग्यवस बितेको छ महिनाको निष्क्रियता घातक भएको छ ।” (रासस)
Facebook Comment