उपत्यकाको निषेधाज्ञाबारे निर्णय भएन
काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने वा हटाउने भन्ने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठक निष्कर्षविहीन भएको छ । भक्तपुरका प्रमुुख जिल्ला अधिकारीको ढिलो उपस्थिति भएको र निषेधाज्ञा मोडालिटीबारे आवश्यक छलफल हुन बाँकी रहेकाले निष्कर्षविहिन बनेको हो ।
निषेधाज्ञा पूर्ण रुपमा नअहटाइए पनि केही सहज बनाउने गरी अघि बढ्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘सिधै निषेधाज्ञा हट्दैन, संक्रमण फैलँदो अवस्थामा छ, त्यसकारण आम नागरिकलाई सहज हुनेगरी निर्णय हुन्छ,’ उनले भने ।
निषेधाज्ञाको मोडालिटीमा केही छलफल भए पनि सम्बन्धित निकाय र व्यक्तिसँग छलफल नभएका कारण मंगलबार निर्णय हुन नसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल प्रसाद पाण्डेले जानकारी दिए । उनले यसबारेमा बुधबार छलफल हुने बताए ।
‘आज सुरक्षाको विषयमा केही छलफल भयो, बाहिरी अवस्था र निषेधाज्ञाको बारेमा पनि समिक्षा भयो, बाँकी निर्णय भोली हुन्छ,’ उनले भने । बैठकमा ललितपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरीको उपस्थिति रहेको थियो ।
Facebook Comment